२०८३ असार २७ गते शनिवार ।
हिजोआज कुओपिओमा गृष्म ऋतु जवान छ । बिहान करिब साँढे तीन बजे सूर्योदय हुन्छ भने राती करिब एघार बजे मात्र सूर्यास्त हुन्छ । हिउँदभर दिनरात एकछत्र अन्धकारमा धुम्म पर्ने यो धरतीमा अहिले भने घामकै राज छ । जूनतारा अल्पमतमा छन् । वर्षैभरी घाम, जूनताराको समावेशी सत्ता चल्ने नेपालकोजस्तो सन्तुलित प्रकृतिमा अभ्यस्त भएकाले होला, मलाई यो नोर्डिक दिनरातको ठाँट अनौठो लाग्छ, जहाँ घडीको सुई दिनरातको समय बलै भागबण्डा गरिदिन्छ ।
आज शनिवार । दिनभर कोठामै थुनिएर बस्दा ज्यान र मस्तिष्क दुवै बोझिल लागेको छ । साँझ सात बजेको जवान घाम, खुलेको आकाश र हराभरा परिवेशले मलाई बाहिर तान्छ । मेरो बासस्थान देखि करिब दश मिनेटको हिँडाइ पश्चात् काल्लाभेसी नामक ठूलो तालको एक छेउ पुगिन्छ । सानाठूला गरी करिब एक लाख अठासी हजार तालतलैयाले भरिएको यो देश (फिनल्याण्ड) मा सायद जुनकुनै ठाउँबाट पनि दश–बिस मिनेटको हिँडाइमा कमसेकम एउटा ताल पुगिएला । म उक्त तालको निउभा तटक्षेत्रतर्फ ओरालो लाग्छु ।


