Pages

Saturday, September 14, 2013

उपत्यकामा वायुप्रदुषण

विगतका केहि दिनहरुदेखि काठमाडौं उपत्यकामा घट्दै गरेको बर्षाको आवृत्तिसागै वायुमा धूलोजन्य प्रदुषकको मात्रा अत्याधिक बढ्न पुगेको छ । पैदल यात्रुहरु सडकमा यात्रा गर्दा धुलाम्य हुनुपर्ने अवस्था सृजना भइरहेको छ । त्यसो त उपत्यकाबासीहरुका लागि यो कुनै नौलो समस्या होइन तर चौडा पार्नका लागि भत्काइएका सडकहरु समयमै पुनर्निमाण नहुँदा भने समस्या ज्यादै जटिल बनिरहेको छ । नेपालमा वायुप्रदुषण नियमनको प्रकृया सुरु भएको झन्डै डेड दशक बितिसकेको छ भने वायुको गुणस्तर सुधारका लागि सरकारी तथा गैरसरकारी निकायहरुबाट प्रशस्त स्रोत तथा साधनहरुको लगानी भइसकेको छ, जसको प्रमुख हिस्सा काठमाडौं कन्द्रित छ । तथापि उपत्यकाको वायुको गुणस्तर सुधार हुनुको साटो दिन प्रतिदिन खस्कँदै जानु सोचनिय विषयवस्तु हो । तसर्थ सरकारी स्तरबाट तत्कालिन र दीर्घकालिन योजनाहरु सहित वायु गुणस्तर व्यवस्थापन प्रणालीको उपयुक्त खाका तयार पारी तदनुरुप सम्पूर्ण सम्बन्धित निकायहरुले उक्त खाकामा केन्द्रिकृत भई कार्य सम्पन्न गरे मात्र स्वच्छ वायुमण्डल सहितको काठमाडौं शहरको परिकल्पना गर्न सकिन्छ ।

नाईट्रोजन, सल्फर तथा कार्वनका अक्साइडहरु, भोलाटाईल अर्ग्यानिक कम्पाउन्ड, पोलिसाईक्लिक एरोम्याटिक हाईड्रोकार्वन, ओजोन जस्ता ग्यासजन्य प्रदुषकहरु र विविध कणजन्य प्रदुषकहरु उपत्यकाको वायुमण्डलमा व्याप्त छन् । कणजन्य प्रदुषकहरु तिनीहरुको एरोडाईनामिक व्यासको आधारमा पि.एम. १० र पि.एम. २.५ गरी दुई वर्गमा विभाजित छन् र यस्ता प्रदुषकहरु विविध भौतिक, रासायनिक तथा जीवरासायनिक प्रतिक्रियाबाट समेत उत्सर्जित हुने गर्छन् । काठमाडौंको सन्दर्भमा सडक नै कणजन्य प्रदुषकको प्रमुख स्रोत हो । यस्ता कणजन्य प्रदुषकहरु काठमाडौंको वायुमण्डलमा समस्याजनक मात्रामा रहेको पाईन्छ । वायुप्रदुषण सम्बन्धि तथ्याङ्कहरुका अनुसार काठमाडौंका धेरै स्थानहरुमा वायुमा तैरने कणहरुको मात्रा नेपालको यससम्बन्धि मापदण्ड भन्दा निकै बढी भएको पाईएको छ । विश्व स्वास्थ्य संगठनले पनि काठमाडौंको वायुलाई कणजन्य प्रदुषकको मात्रा मापनको आधारमा प्रदुषित मानेको छ । उपत्यकाका विविध स्थानहरुमा स्थापित एम्बिएन्ट एयर क्वालिटि मोनिटोरिङ्ग स्टेसनहरुले सन् २००२ देखि २००७ सम्म संकलन गरेको तत्थ्याङ्क अनुसार पनि पाटन, ठमेल, पुतलीसडक लगायतका स्थानहरुमा पि.एम. १० को मात्रा वायुमण्डलमा अध्याधिक हुने गरेको पुष्टि भएको छ । तर हाल ति मोनिटोरिङ्ग स्टेसनहरुले समेत काम नगरिरहेको सन्दर्भमा सम्बन्धित निकाय तथा उपत्यकाबासीहरु वायुप्रदुषणको अवस्था बारे दृष्टिहिन बन्नु परेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर झण्डै ३० प्रतिशत श्वासप्रश्वास सम्बन्धि रोगहरु वायु प्रदुषणका कारण लाग्छन् भने वायु प्रदुषणकै कारण प्रत्येक वर्ष २० लाख मानिसहरुको अकाल मृत्यु हुने गर्दछ, जसको आधा भन्दा बढि हिस्सा विकासोन्मुख राष्ट्रको रहेको पाइन्छ । वायु प्रदुषणका कारण उपत्यकाका बासिन्दाहरुमा पनि स्वासप्रश्वास सम्बन्धि रोगहरु बढिरहेको निष्कर्ष विभिन्न अनुसन्धानहरुले निकालेका छन् भने प्रदुषणकै कारण स्वास्थ्यगत खर्च पनि बढिरहेको देखिन्छ । काठमाडौं र ललितपुर जिल्लामा मात्र वायुको गुणस्तरलाई तोकिएको मापदण्ड अनुरुप स्विकार्य बनाउन सके प्रतिवर्ष झण्डै ४४ लाख अमेरिकी डलर बराबरको स्वास्थ्यगत फाइदा हुने तथ्य सन् २०१२ मा सार्वजनिक गरिएको एक अध्ययनले देखाएको छ ।

केन्द्रिय तथ्याङ्क विभागका अनुसार वागमती नेपालकै सबैभन्दा ज्यादा सवारी साधन रहेको अञ्चल हो भने वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाको वायुमण्डलमा पि.एम. १० उत्सर्जनको ६० प्रतिशत हिस्सा केबल सवारी साधनहरुले ओगटेको छ । यसबाट प्रष्ट हुन्छ कि उपत्यकाको यातायात व्यवस्थापन गर्नु वायुको गुणस्तर व्यवस्थापनका लागि एक महत्वपूर्ण कडि हुन सक्छ । विश्वका विकसित मुलुकहरुमा सार्वजनिक सवारीको प्रयोग, साईकल तथा पैदल यात्रालाई निकै बढवा दिईएको पाईन्छ तर नेपालको सन्दर्भमा यसतर्फ सरकारी स्तरबाट भएका प्रयासहरु शून्यप्राय छन् भने व्यक्तिगत तथा केहि संस्थागत प्रयासहरु नगन्य छन् । जाईकाले हालसालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार सन् २००० को दशकमा ५ लाख ७० हजार भन्दा बढि सवारी साधनहरु वागमति अञ्चलमा दर्ता भएकामा ९३ प्रतिशत भन्दा ज्यादा निजी सवारी थिए भने सार्वजनिक सवारी ३.५ प्रतिशत मात्र थिए । सार्वजनिक सवारी साधनको प्रयोगको अवस्था सुधार गर्न सरकारको उती ध्यान नपुगिरहेको परिप्रेक्ष्यमा निजी सवारी साधन प्रतिको बढ्दो आकर्षणले काठमाडौं उपत्यकामा सवारी साधनको चाप अत्याधिक बढिरहेको छ जसले गर्दा वायुप्रदुषणको समस्या झन् झन् विकराल बन्दै गएको पाईन्छ । यातायात साधनहरुको संख्यामा तिव्र बृद्धि भैरहेको भए पनि सोहि अनुपातमा सडक सञ्जाल बढ्न नसकेकाले र भएका सडकहरुमा पनि सुधार हुन नसकिरहेकाले उपत्यकामा ट्राफिक जामको समस्या ज्वलन्त भैरहेको छ । आइ.यू.सि.एन. ले सन् २००४ मा प्रकाशित गरेको एक अनुसन्धान प्रतिवेदन अनुसार काठमाडौंका धेरै स्थानहरुमा सवारी साधनहरु शहरी मापदण्ड भन्दा निकै कम गतीमा गुड्ने गर्दछन् जसले प्रत्यक्ष वा परोक्ष रुपमा वायुप्रदुषणलाई बढवा दिईरहेको छ । हालसालै नेपाल सरकारले थालेको उपत्यका भित्रको सडक सञ्जाल सुधारका प्रयासले भविष्यमा यी समस्याहरु केहि हदसम्म कम हुनसक्ने देखिए पनि भएका हरितक्षेत्रहरुको नाश हुनु र सडक सुधारको कार्यले अपेक्षित गति लिन नसक्नुले कणजन्य प्रदुषकको मात्रा वायुमण्डलमा अत्याधिक बढ्न गई जनजीवन प्रभावित भएको देखिन्छ ।

वायु गुणस्तरको दीर्घकालिन व्यवस्थापनका लागि उचित नियम कानुनहरुको व्यवस्था गर्नु, प्रदुषण नियन्त्रण सम्बन्धि रणनीति तय गर्नु र लक्ष्य तय गर्नु महत्वपूर्ण कार्यहरु हुन् । वातावरण संरक्षण ऐन २०५३ तथा नियमावली २०५४ यस सम्बन्धि प्रमुख ऐन नियमहरु हुन् । तर यी ऐन नियमहरुमा वायु गुणस्तर व्यवस्थापन सम्बन्धि ठोस प्रावधान भने रहेको पाइादैन । प्रदुषण नियन्त्रणका लागि यसका स्रोत अनुरुप वातावरणीय, प्राविधिक तथा आर्थिक रुपबाट समेत अनुकुल हुने रणनीतिहरु तय गरि लागू गर्नु जरुरी देखिन्छ । लक्ष्य तय गर्ने सन्दर्भमा भने सन् १९९५ देखि नेपाल सरकारले डिजेल तथा पेट्रोलबाट चल्ने सवारी साधनहरुका लागि विविध उत्सर्जन मापदण्डहरु तोकेको थियो भने सन् २००३ को वायुको गुणस्तर सम्बन्धि राष्ट्रिय मापदण्डले पि.एम. १०, सल्फरडाईअक्साईड, नाईट्रोजन डाईअक्साईड, कार्वनमोनोअक्साईड, लेड तथा बेन्जिनको मापदण्ड समेत लागू गरेको थियो । उल्लेखित दुवै मापदण्डहरुलाई नेपाल सरकारले हालसालै अर्थात सन् २०१२ मा संसोधन गरेको छ । जसअनुरुप सवारी साधनहरुका लागि नेपाल सवारी प्रदुषण मापदण्ड २०१२ -यूरो ३ समानस्तर) तथा पि.एम.२.५ र ओजोन गरी दुई गुणहरुसमेत थप गरी वायुको गुणस्तर सम्बन्धि राष्ट्रिय मापदण्ड २०१२ संसोधन सहित लागू गरेको छ । यसका अलवा डिजेल तथा पेट्रोलबाट चल्ने दुइपांग्रे सवारी साधनका लागि पनि उत्सर्जन मापदण्ड तोक्नु जरुरी देखिन्छ ।
वायुको गुणस्तर सम्बन्धि नीति नियम तथा मापदण्डहरु पालना गर्नु गराउनु गुणस्तर व्यवस्थापनको अर्को महत्वपूर्ण पक्ष हो । तर यस पक्षमा भने सम्बन्धित सरकारी निकायहरु उदासिन देखिन्छन् । नेपालमा लागू गरिएका प्रदुषक मापदण्डहरु अन्य कैयन दक्षिण एसियाली मुलुकहरुको भन्दा कम हुँदाहुँदै पनि वायुको गुणस्तरमा अपेक्षाकृत सुधार नहुनुले नियम पालनाको पक्ष कमजोर रहेको पुष्टि हुन्छ ।

वायुप्रदुषकहरुको मापन, मोडेलिङ र यसले वातावरण र मानविय स्वास्थ्यमा पार्ने असरहरुको अध्ययन वायु गुणस्तर व्यवस्थापनका लागि अत्यन्त महत्वपूर्ण छन् । वायुको गुणस्तर सम्बन्धि लक्ष्य तय गर्न तथा परिमार्जन गर्न लगायत प्रदुषण नियन्त्रण रणनीति तयार पार्न समेत यस्ता मापन तथा मोडेलिङबाट प्राप्त तथ्याङ्कहरु जरुरी हुन्छन् । तर यस पक्षमा पनि नेपाल निकै कमजोर भएको प्रतित हुन्छ । तसर्थ यथाशिघ्र वायु गुणस्तर मापन प्रणाली स्थापित गरि सञ्चालन गर्नु अत्यन्त जरुरी देखिन्छ भने सम्बन्धित प्राज्ञिक क्षेत्रसागको सहकार्य पनि महत्वपूर्ण हुन्छ । यसका अलवा वायुको गुणस्तर व्यवस्थापनमा व्यक्ति, समाज, संघसंस्था तथा सरकारको सामूहिक प्रयास र सहकार्य अत्यावश्यक छ । तसर्थ यस्तो किसिमको सहकार्य जुटाउने प्रबन्ध सहितको वैज्ञानिकतामा आधारित वायु गुणस्तर व्यवस्थापन प्रणाली लागू गर्न सके स्वच्छ र हराभरा काठमाडौंको परिकल्पनाले साकार रुप पाउने थियो ।

✍️ नारायण धिताल । भदाै २८, २०७० । काठमाडाैं ।  गोरखापत्र, २०७० भदौ २८ गते प्रकाशित  ।

No comments:

Post a Comment