Pages

Tuesday, May 16, 2023

वसन्तको रङ्ग कस्तो?

कुनै समयका घाम मिठा, न्याना र मनै उज्यालो पारिदिने खालका लाग्छन् त कुनै समयका घाम चर्का, जर्कटा र उराठ लाग्दा । हावाको ताल पनि त उस्तै हो । पारिजातको वास्ना मिसिएको शारदीय हावाको स्पर्श मातृ स्नेह झैं प्रिय हुन्छ । त्यो हावाले चंगा उँडाउँछ । चङ्गा सँगै उँडाएर मनै चंगा बनाइदिने  त्यो हावा कोमल र मधुर लाग्दछ । तर त्यहि हावा कहिले चैते हुण्डरी बनेर चङ्गा होइन, छाना उँडाउन जाइलाग्छ । यी ऋतु पिच्छे रुपरङ्ग फेर्ने घाम, पानी, हावा, चट्याङ, विजुली, रुखपात आदिको प्रभाव मेरो मानसपटलमा यति गहन र गडिँदो छ कि कहिले यीनले त्यसै–त्यसै मनलाई फुरुङ्ग पारिदिन्छन् त कहिले बेचैन बनाइदिन्छन् ।

चैत भर्खरै सकियो । वसन्त यौवनावस्था पार गरिवरी परिपक्व छ । हिजो भर्खरसम्म हुरीबतास र वर्षाले मौषम निकै चिसो थियो । आज एकाबिहानै देखि घाम चरक्क चर्किएकाले नमिठो गर्मी छ । एक प्रसङ्गमा मेरा विद्यावारिधिका सुपिरवेक्षक प्राध्यापक भन्नुहुन्थ्यो, ताइवानीहरु यो ऋतुलाई सौतेनी आमाको संज्ञा दिन्छन् । तर मलाइ यो मौसम बहकिएको मन जस्तै लाग्छ, क्षणे रुष्टाः क्षणे तुष्टाः रुष्टे तुष्टे क्षणे क्षणे । 

झोला बोकेर म विश्वविद्यालयतिर बाटो लाग्छु । हिजोको हुण्डरीले झारेको पातपतिङ्गर, फूलहरु र भाँचिएका स–साना हाँगाहरुले सडकपेटी लपक्कै ढाकेको छ । बिदाको दिन भएकोले विश्वविद्यालयभित्र मानिसहरुको चहलपहल छैन । ओसिलो पतिङ्गरले ढाकेको सडकपेटीमा म पहिलो छाप बनाउँदै अगि बढ्छु । घामको रङ्ग उराठ लाग्दो छ । यी मौसमी उत्प्रेरकहरुले मेरा दशकौं पुराना वसन्तका अनुभवहरु अन्तर्मनबाट सतहमा तैर्याइदिन्छन् । 

प्राय मानिसहरुका वसन्तका अनुभवहरु पढ्छु, सुन्छु । ति प्राय राता, पहेँला, निला फूलहरुले रङ्गिएका पाउँछु । तर मेरो वसन्तको अनुभव र रङ्ग भने अलि फरक र मौलिक छ । म आफ्नो स्मृतिको एल्बमबाट वसन्तको चित्र पल्टाउन थाल्छु । हरेक चित्रका बिचित्र रङ्ग गौर गर्दै प्रयोगशाला तर्फ अगि बढ्छु । 

बिहान आठ बजे, बाख्रापाठाको धन्दा सकेर म आँगनको डिलमा उभिन्छु । घाम खरो लाग्न थालेको छ, उती पोलिहाल्ने पनि होइन । आँगन फुस्रो र सुख्खा छ । ठाउँ-ठाउँमा सुख्खाले भुइँ चर्किएका रेखाहरु छन् । त्यहि सुख्खा र रुखो देखिने आँगनको डिलमा एक लाइन रंगिन फूलहरु फूलेका छन् । त्यति रुखो आँगनमा ति कोमल फूलहरु के गरी फूल्न सकेका होलान्? म सोचमग्न भइदिन्छु । तर मै पनि त त्यहि रुखोसुखो आँगनमा दबिएको ओसले सिञ्चित भएर हुर्किएको बिरुवा न थिएँ । कहाँ  म हड्डि र पिना पिसेर तयार पारेको आधुनिक मल, हजारीको पानीको सिँचाइ र बिहानबेलुकै मालीको चाकरीमा हुर्किएको नर्षरीका बिरुवा थिएँ र?

तुलसाको मठको बाहिर टालेको माटो प्राय सबै उप्किएर गिङ्ग्रीङ्ग परेको छ । मठमाथी पात बेगरका दुइवटा तुलसीका डाँठहरु ठिङ्ग्रीङ्ग उभिएका छन् । तुलसाको मठ हराभरा हुन अझै दुइ-तीन महिना तुलसी सार्ने एकादशीसम्म कुर्नुपर्छ । लिपपोत, रंगरोगनले ठाँटिने त उही आघौँ तिहारपछिको ठूलो एकादशीमा हो । 

तुलसीको मठको आडमा इन्द्रकमलको बोट छ । इन्द्रकमल सेताम्य भएर ढकमक्कै फुलेकोछ । आँगनमा टेक्ने जोकोहिले आहा कति मिठो वास्ना इन्द्रकमलको भनेर एउटा थुँगा लुछिहाल्छन् । मेरो मन भने फूल चुँडेको देख्दा कटक्कै खान्छ । इन्द्रकमलको त्यो यौवन देख्दा लाग्छ उ रुखो, सुखो जमिनमा होइन  कि उही हजारीको पानी र हड्डीपिनाको मलले मौलाएको हो । तर अहँ; उसले आफ्नै प्राकृतिक जमिनको स्वादमा रमाउन जानेको छ ।

आँगनको बायाँ डिलमा जुँगेकाफलको बोट छ । जुँगेकाफलका हाँगाहरु कलिला हरिया पालुवाहरुले ढपक्कै ढाकिएका छन् । जुँगेकाफल लटरम्मै फलेर पाकेको छ । एक जोडि जुरेली जुँगेकाफल खाँदै हाँगाहाँगै फुरुक्क–फुरुक्क उफ्रिँदै हल्ला गरिरहेका छन् । आँगनको डिलमुनिको कान्लो प्राय रुखो र फुस्रो नै छ । घाँस पलाइसक्ने बेला अँझै भएको छैन । बारीमा भर्खरै छरिएका मकै टुसाउन थालेका छन् । 

दिदि भान्सा तयार पार्नुहुन्छ । दाइ पनि आमाले अह्राएजति धन्दा सकाउनुहुन्छ । तर पराल खोज्न बिहानै जानुभएकी आमा आइपुग्नु भएको छैन । डुँडमा हरियो-परियो टुटेपछि भैँसी थाकेको पनि एक महिना भन्दा ज्यादा भैसक्यो । दुहुनो नभएकोले हिजोआज आमालाई गोठधन्दा हामीलाई सुम्पेर बाहिर काममा हिँड्न सहज भएको छ । भैंसी साउनमा ब्याउने छ । मनमा बेगौती खाने समय नजिकिएको उत्साह त छँदै छ । तर फेरी पहिले-पहिले जस्तै पाठेघर खसेर भैंसी थलिने पो हो कि भन्ने त्रासले हामी चिन्तित छौँ । त्यसो त ब्याउने कुरा गर्दा खोरमा काली बाख्री पनि भरेभोली भएकीछे । भोको पेटमै भुँडी बडेमानको रोचेजत्रो छ । यसपाली पनि पक्कै तीनवटा पाठापाठी पाउँछे भन्ने पक्कापक्की नै छ । तीनैवटा पाठैपाठा पाइ भने यो साल क-कसको ऋण घटाउने भन्ने प्लान रेडि छ । 

बिहान छ बजे उठेर हामीलाई काम अर्थ्याएर पराल खोज्न काउलेपानी जानुभएको आमा अँझै आइपुग्नुभएको छैन । आमाले नपस्किएको भान्सा उत्ती उत्साहजनक नलाग्ने भएकोले सवा आठ बजे सम्म कुर्यौं । तर आमा आइनपुग्नुभएपछि हामीले भातसात खाइवरी आमाको लागी खाना छोपछाप पारेर स्कूल जाने तयारीमा जुट्यौं ।

पर क्षितिजमा काफल-पाक्यो चरा एक तमासले कराउँछ । उसको आवाज बिस्तारै चकिलो र टड्कारो सुनिन्छ, जसले मेरो मानसपटलमा एउटा कथा ब्यूँझाइदिन्छ । "एकादेशमा काफल-पाक्यो चराको परिवारमा बाउ, आमा र छोरा थिए रे । बाउ चरा इलम गर्न मुग्लान गएछ । गुँडमा आमा छोरा बस्थे, बाउ आउने दिन कुर्दै । अनि वसन्त ऋतुमा आमा चरीले काफल पाक्यो, अब घर फर्क भन्दै बाउ चरोलाई बोलाएकी रे ।" बच्चैदेखि सुनेको यो कथा । बाउ चरो सायद कहिल्यै गुँड नफर्केला, किनकि हरेक साल आमा चरी यसरी नै उसलाई बोलाएको बोलायै छे । यो कथा मात्र हो भन्ने म बुझ्थेँ, तर पनि खै किन हो मेरो मन अमिलो हुन्छ ।अमिलिएको मनमा नुनचुक छर्न माथी खोरियातिरबाट न्याउली थपिन्छ । 

हामी स्कुल जान तयार हुन्छौँ । पौने नौ बजे आमा खुइय गर्दै रित्तोहात आउनुहुन्छ । काउलेपानी देखी बेलटारसम्म चाहार्दा कतै पराल पाइएन । यो  "ओडार"लाई अब डेड महिना के गरि धान्ने हो? आमा नाम्लो पिँढीमा मिल्काएर थचक्क बस्नुहुन्छ । चैतकै आधाउधीमा टौवा रित्तिएको । हिर्मन्टार देखि किनेको तीन भारी बेमौसमी पराल पनि सकियो । जेठ १५ नलागी बारीमा चिमोट्न मिल्ने केहि हरियो पलाउँदैन । पाँच-सात भारी पराल नभइ उपायै छैन । आमाको अनुहारमा चिन्ताका रेखा बेग्रल्ती देखिन्छन् । माघ देखि यता राम्ररी पानी परेकै छैन । एक झर राम्रो पानी परिदिए मकै अलि सप्रिन्थे, कान्लामा घाँस टुसाउँथे भनेर आमा दिनदिनै गुनासो गर्नुहुन्छ । तर खै गुनासो सुनिदिने पो कसले हो?  

हामी हतार–हतार स्कूलतिर हानिन्छौं । बाटाभरी मनमा तर्कना खेल्छन् । पढाइमा अब्बलै छु; पढेर सक्न पाए त महिनाकै १०/१२ हजार कमाइ हुने प्रोजेक्टका जागिर छ्यापछ्याप्ती पाइन्छन् । गामका पढेलेखेका दाजुदिदिहरू त्यसै भन्थे । प्रोजेक्टमा जागिरे हुनेहरूको गामठाममा निकै सानमान हुन्थ्यो । म पनि कक्षाको "फर्ष्ट व्याइ" पो त । एउटा प्रोजेक्टमा जागिर त कसो नपत्याउलान्?  त्यसपछि कुलो लाग्ने खेत किन्छु । आमाको "पराले पिर " बुझाउने योजना बुन्छु मनैमन । खडेरीको चिन्ताले फेरी एकजना नेताको याद ब्यूँझाइदिन्छ । उहिले पालुंटारलाई भनेर सिँचाइ योजना आएको थियो रे । त्यस ताका कुनै नेताले  सिँचाइ योजना अर्कै क्षेत्रमा  पुर्याएर आफ्नै क्षेत्रलाई थाङ्नामा सुताइदिएका रे । यस्तै सुनिन्थ्यो गाउँमा कुराकानी । सम्झिँदा नि झनक्क रिस उठ्छ, मनै चुकचुकाउँछ । त्यो सिँचाइ अहिले हाम्रातिर भैदिएको भए जाबो एउटा भैँसी पाल्ने पराल त आफ्नै खेतमा हुँदोहो । खेतमा यतिखेर मकै पोलेर खाने बेला भैसक्दोहो । भैँसीलाई फालाफाल मकैको ढोड हुँदोहो । परालको चक्करमा आमालाई बिहानभरी डुल्नु पनि पर्थेन । ति नेताले साह्रै घात गरेका हुन् ।

केहिबेर प्रयोगशालाको  सिलिङमा मेरा वसन्तका  चित्रहरू नाचिरहन्छन् । मन भारी हुन्छ । भारी मन बिसाउन साँझपख उहि आफ्नो "हिल स्टेशन" लाग्ने योजना बुन्दै काममा लाग्छु । 

✍️ नारायण धिताल  ।  बैशाख १२, २०७७  ।  ताइचुङ, ताइवान  ।

No comments:

Post a Comment