Pages

Saturday, July 11, 2026

युद्ध

२०८३ असार २७ गते शनिवार ।

हिजोआज कुओपिओमा गृष्म ऋतु जवान छ । बिहान करिब साँढे तीन बजे सूर्योदय हुन्छ भने राती करिब एघार बजे मात्र सूर्यास्त हुन्छ । हिउँदभर दिनरात एकछत्र अन्धकारमा धुम्म पर्ने यो धरतीमा अहिले भने घामकै राज छ । जूनतारा अल्पमतमा छन् । वर्षैभरी घाम, जूनताराको समावेशी सत्ता चल्ने नेपालकोजस्तो सन्तुलित प्रकृतिमा अभ्यस्त भएकाले होला, मलाई यो नोर्डिक दिनरातको ठाँट अनौठो लाग्छ, जहाँ घडीको सुई दिनरातको समय बलै भागबण्डा गरिदिन्छ । 

आज शनिवार । दिनभर कोठामै थुनिएर बस्दा ज्यान र मस्तिष्क दुवै बोझिल लागेको छ । साँझ सात बजेको जवान घाम, खुलेको आकाश र हराभरा परिवेशले मलाई बाहिर तान्छ । मेरो बासस्थान देखि करिब दश मिनेटको हिँडाइ पश्चात् काल्लाभेसी नामक ठूलो तालको एक छेउ पुगिन्छ । सानाठूला गरी करिब एक लाख अठासी हजार तालतलैयाले भरिएको यो देश (फिनल्याण्ड) मा सायद जुनकुनै ठाउँबाट पनि दश–बिस मिनेटको हिँडाइमा कमसेकम एउटा ताल पुगिएला । म उक्त तालको निउभा तटक्षेत्रतर्फ ओरालो लाग्छु । 

View of Kallavesi Lake from Savilahti, Kuopio
तस्विरः साभिलाती, कुओपिओ बाट देखिने काल्लाभेसी तालको दृष्य ।

घाम चर्को छ । तर उतिसारो गर्मी पनि छैन । म निउभा तटमा एउटा भोजपत्रको छहारीमा बस्छु । सिरसिर बतासको लयमा भोजपत्रका पातहरू नृत्य गर्दैछन् । रुखका डालीहरूमा चराहरू चिरबिराउँदै फुरुक्क–फुरुक्क नाचिरहन्छन् । बतासकै लयमा तालैभरी चन्चल छालहरू किनार भेट्न निरन्तर दौडिरहन्छन् । स्वच्छ र चम्किलो निलो आकाशमा इन्द्रकमल झैँ सुकिला एकाध बादलका थुँगाहरू फक्रिएका छन्, जसका छायाँ तालका छालसँग लडीबुडी खेल्दैछन् । कलाकार झैँ ति बादल निरन्तर भेष बदल्दै अनेकन कलेवरमा नाट्य प्रदर्शन गर्दैछन् । म मनमनै कथा बुन्छु । बादलहरू मेरो कथा बुझे झैँ स्वरुप बदली अभिनय गर्छन् । बतासका सुसेली, छालका कलकल, भोजपत्रका पत्ताका सरसराहट र चराचुरुङ्गीका चिरबिर सामूहिक पाश्र्व सङ्गीत भर्छन् । 

तस्विरः निउभा तट बाट देखिने काल्लाभेसी तालको दृष्य ।

केही मानिसहरू तालको पर–परसम्म डुङ्गामा सयर गर्दैछन् भने कोही पौडीँदैछन् । कोही भने तटमा गोही झैँ लम्पसार परी घामको आनन्द लिइराखेका छन् । मेरो दायाँ तर्फ एउटा काठे पियर छ, जसको दुवैपट्टी दर्जनौँ क्याविन मोटरबोटहरू बाँधिएका छन् । केही मानिसहरू उक्त काठे पियरको बाटो हुँदै डुङ्गासम्म बन्दोबस्तीका सामान ओसार्दैछन् । सायद उनीहरू समर कटेजमा बिदा मनाउन हिँड्ने तयारी पो गर्दैछन् कि? म चारैतर्फ चाल र उल्लास देख्छु । हिउँदभर यहाँका कण–कण ठप्प जम्छन् । पाहुना झैँ झुल्किने यो गृष्मकालमा भने यहाँ सबथोक पग्लन्छन्, बग्छन्, गाउँछन्, नाच्छन्, चलायमान हुन्छन् । कीटपतङ्ग, रुखपात, मान्छे, सबै–सबै गृष्म ऋतुको यो उत्सव मनाउँछन् ।

एकैछिन म पनि यो उत्सवमा सहभागी हुने प्रयास गर्छु । मेरो मन यो चलायमान प्रकृतिसँगै एकाकार हुन्छ । म ति मायावी बादल, तरल ताल, चन्चले छाल, चिरविरे चराहरू र भोजपत्रका नृत्यरत पत्ताहरूसँगै यस धरतीको एउटा कोषिका बनिदिन्छु । मेरो मन बादलका नाटकमा पात्ररुपमा मिसिएर प्रस्तुत हुन्छ । जसै म धरतीका लयमा एकाकार हुन्छु, मेरो मन र शरीर दुवै भारबिहिन प्रतीत हुन्छन् । सधैँ कामको उजिन्नोमा झुण्डिराख्ने चिन्ता र चिन्तन यतै कतै तालभित्र कुरमा लुके होलान् । म हलुङ्गो हुन्छु ।

तर मेरो शान्ति धेरैबेर टिक्दैन । हठात् मेरो ध्यान भङ्ग गर्दै हत्केलामा एउटा कमिलो दौडन्छ । कमिलो बडो दृढतासाथ मेरो पाखुरातिर कुद्दै छ, मानौँ ऊ कुनै विशेष मिसनमा हिँडेको छ । ऊ कुमतिर उकालो लाग्न नभ्याउँदै म जोडले फु... गरेर फुकिदिन्छु । कमिलो बतासिँदै पर भुइँमा थचारिन्छ । म उसलाई टिठले हेर्छु । ऊ एकदुई सेकेण्ड वाल्ल पर्छ र फेरी कुद्न थाल्छ, मानौँ उसले अगिल्लो मिसनको समीक्षा गरीवरी, नयाँ रणनीतिका साथ मिसन पुनः सुरु गर्दैछ । कुन चाहिँ जरुरी काम तुर्न यो कमिलो कुदेको होला? मलाई हाँसो उठ्छ । अल्लि पर पुगेर ऊ पुनः टक्क रोकिन्छ र एकजोडी एन्टेना बिस्तारै हल्लाउँछ, मानौँ उसले वस्तुस्थितिको गम्भिर जाँचबुझ गर्दैछ । उसको यो रोकावट मलाई अर्थपूर्ण लाग्छ । एक्कासी उक्त कमिलोको विम्ब मभित्र प्रकट हुन्छ र मसँग युद्ध गर्न तम्सिन्छ । सर्वप्रथम मेरो दृष्यध्यानको शान्ति भङ्ग गरी एउटा कठोर प्रश्नवाणले मलाई प्रहार गर्छ । हे मनुवा, मेरो मात्र दौडधुपलाई तँ किन तिरस्कार गर्छस्? आफ्नो दौडधुपको पनि त एक खेप समीक्षा गर् । मेरो र तेरो जीवनको मिसनमा के भेद छ? लौ भन् त?

तब मनोरम प्रकृतिका नाट्य लयमा तिरोहित मेरा चिन्ता र चिन्तन पुनः सतहमा छताछुल्ल हुन्छन् । हत्तेरिका ! यी शान्तिहरण गर्ने एजेन्टहरू पाइलै पिच्छे कति हुन्? केही नपाएर कमिलोले समेत च्यालेन्ज गर्छ गाँठे । 

मेरो कमजोर मनस्थितीको लख काट्दै कमिलो जोसिन्छ र अर्को प्रश्नवाणले प्रहार गर्छ । यो अनन्त ब्रह्माण्डमा म कमिलोको र तँ मान्छेको अस्तित्व र चेतनामा के अन्तर छ? 

मैले जवाफी प्रहार नगरी धरै भएन । अन्तर त निकै ठूलो छ बुझिस्? ठूलो कुरा नगर् । तँलाई मानिस नामक प्राणीको अस्तित्वको भेउ सम्म छ? तैँले मलाई चिनेको छस्? म त यो चराचर जगतकै सर्वश्रेष्ठ प्राणी पो हुँ त । धेरै परको त के कुरा गरौँ, तँलाई त्यहिँ पल्लो पट्टी तलाउमा पौडिरहेका ति मानिसहरू, तैरिरहेका ति डुङ्गाहरूबारे ज्ञान छ? आकाशमा लुटपुटाएका ति बादलहरूलाई तैँले के ठानेको छस्? केही सय मिटर पर सडकमा दौडिरहेका मोटरहरूबारे तँलाई खबर छ? अझ भनौँ, यो धरती र अन्तरिक्षमा हामी मानिस भन्ने प्राणीले केही हजार बर्ष देखि मच्चाइराखेको उत्पातहरूबारे तिमी कमिलाहरू के बुझ्छौ? तेरो ब्रम्हाण्डको फैलावट कत्रो छ लौ भन् त? भर्खर मेरो हत्केलाबाट उछिट्टिएर उँड्नुलाई तैँले कस्तो प्रकोप ठानिस्? 

मेरो प्रतिप्रहारले उसलाई खासै छुँदैन । ऊ उल्टै अँझै कठोर प्रहारमा उत्रन्छ । ए मनुवा ! हो, म तँ भन्दा सानो छु । तर तँ पनि त कसैका निम्ति कमिलो होलास्? जसरी तेरा चमत्कारहरू मेरो चेतना भन्दा निकै पर छन्, त्यसै गरी तँ किन सोच्दैनस् कि तेरो चेतना भन्दा पर पनि अनेक हुन सक्छन्? तँ कसरी आफूलाई सर्वश्रेष्ठ घोषणा गर्न सक्छस्? अनि सुन्, जसरी मेरो दौडधुप तेरा लागि निरर्थक छ, त्यसरी नै तेरो अर्थपूर्ण कर्म मेरा लागि निरर्थक छन् । कतै तेरो दृष्टि मेरो भन्दा पनि साँघुरो त छैन? 

कमिलोको चेहरामा जितको आभा प्रस्टै छ । ऊ ओठ लोप्र्याउँदै बाहिर निस्किन्छ र फेरी कुद्न थाल्छ ।

मलाई मेरो प्रतिरक्षात्मक प्रहार निकै कमजोर प्रतीत हुन्छ । उसले ठिकै त भन्यो । मेरो दृश्य उसको भन्दा नितान्त फराकिलो छ । तर के यो भेदको परिमाणले ब्रह्माण्डको फैलावट अगि केहि अर्थ राख्छ? मेरो दौडधुप उसको भन्दा फरक छ? के उसको र मेरो गन्तव्य फरक छन्? म पनि त अनेकौँपटक ऊ जस्तै उछिट्टिएर उँडेको छु, पछारिएको छु । त्यो उछिट्याउने शक्ति के हो? के जीवनको मृत्युबाहेक अर्को कुनै सार्थक गन्तव्य छ?

प्रतिरक्षात्मक हतियारका निम्ति म विज्ञानसामु गुहार माग्छु । विज्ञान मुस्कुराउँदै भोएजर १ नामक अन्तरिक्षयानले खिचेको सौर्यमण्डलको तस्बिर मेरो सामु तेर्स्याउँछ । उक्त तस्बिरमा नगन्य आकारमा मधुरो निलो थोप्लाको रुपमा देखिएको पृथ्वीलाई “पेल ब्लु डट”को संज्ञा दिँदै प्रसिद्ध खगोलशास्त्री कार्ल सेगन भन्छन्, सौर्यमण्डलको अगिल्तिर धरती नै एक तृण तुल्य छैन भने समग्र ब्रह्माण्डको फैलावट अगि मान्छेको के कुरा? राजा देखि रङ्क सम्म, विद्वान देखि पटमुर्ख सम्म, हरेक सन्त, हरेक पापी, हरेक प्रेममा डुबेका जोडीहरू, हरेक वैज्ञानिकहरू, हरेक मानिसहरू, हरेका कमिलोहरू यहि मधुरो निलो थोप्लोमा सुरु हुन्छन् र यहि थोप्लोमा समाप्त हुन्छन् । त्यसोभए के त्यो कमिलो र मेरो औकात एकसमान नै हो त? तुरुन्त मेरो मन निउभा तटबाट उडान गरी करिब छ प्रकाशघण्टा परबाट उहिलेको भोएजर १ को आँखाले मेरो संसार गौर गर्छ । तर उसले कुनै आशलाग्दो उत्तर भेट्दैन । 

फेरी मन मन्दिर पुग्छ र प्रतिरक्षाको याचना गर्छ । मन्दिर भन्छ, तिम्रो प्रतिरक्षात्मक हतियार तिमी आफैले बनाउनुपर्छ । तर कसरी? कति मानिसहरूले बनाएका होलान् कमिलोसँग युद्ध जित्ने हतियारहरू? ति हतियारहरू साँच्चैका होलान् कि खेलौना?

म काल्लाभेसीको पल्लो तटमा टोलाउँछु । पुनः तालमा उठेका तरङ्गहरू हेर्छु जो निरन्तर किनारसम्म जलप्रवाहको भ्रान्ती पैदा गर्दैछन् । यथार्थमा जल बगेकै छैन । म पनि त पल्लो किनार छोइ जीवन सार्थक पार्ने आशमा निरन्तर चलायमान छु, दौडधुपमा व्यस्त छु । तर मेरो दौडधुप जहाँको तहीँ छ, छालको पानी जस्तै । म बगेकै छैन, केबल मेरा दिनहरू बगिराखेका छन् । तालका तरङ्ग झैँ मेरा दिनहरू, वर्षहरू निउभा तटमा निरन्तर क्र्यास हुँदै नष्ट भैराखेको बोधले चिन्तित हुन्छु । 

घाम क्षितिजमा तल-तल झर्दैछ । दिन डुब्दैछ । दिनसँगै सपनाहरु डुब्लान् । निउभा तटभरी रित्ता डुङ्गाहरु कुरिरहेका छन् । तर अपसोच ति डुङ्गाहरू सपनाको भारी पारी तार्न सक्दैनन् । सपना काल्लाभेसी तालमै छालहरूसँगै तलमाथी उफ्रँदैछ, किनार छुने आशमा । यो सीमित जीवनमा तालका छालहरू तटमा नष्ट हुँदै गर्दा ति छालसँगै निरन्तर क्षयिकृत मेरा सपनाका गणितीय सम्भावनाहरूको जब बोध हुन्छ, मन झस्कन्छ । म पनि आज एकपटक बेस्सरी झस्किएँ । 

नौ बज्छ । अब बासस्थान तिर लाग्नु पर्छ । शान्त हुन बाहिर निस्केको मेरो मगज झन उद्वेलित भयो । तर बेलाबखत आउने यी ऊहापोहले मनको ताल यरेट (aerate) हुने रहेछ र बिचारहरुले श्वास फेर्न सक्ने रहेछन् । मेरा बिचारहरू गहिरो निश्वास लिन्छन् । म यसमै चित्त बुझाउँछु ।

तस्विरः निउभा तट बाट देखिने काल्लाभेसी तालको दृष्य ।





No comments:

Post a Comment