मलाई एउटा नयाँ रेगिस्तानी कथा बाँच्ने रहर जाग्छ । म जान्दछु समयको लहर खोलाको धार जस्तै एकतर्फी बग्दछ र गन्तव्य अनजान छ । तर म त्यो अनौठो कथा बाँच्ने निश्चय गर्छु किनकि मलाई आजभोली अनिश्चयका छालहरु उती भयावह लाग्दैनन् । म ती बालुवामा छापिएका अनित्य पाइलाहरुको अर्थमा पनि उति सारो घोत्लिन्न, किनकि ती एक बताससँगै बिलाइजान्छन् । म केबल कथा बाँचिरहन्छु । तर मेरो यात्रामा थकान निश्चयै छ । मेरो आँत प्यासले खक्रक्क सुकेको छ । अब कुन जलले आँत भिजाउँ? म रनभुल्ल पर्छु ।
आजै देखि तिहार लाग्यो । कम्प्यूटर खोल्छु, युट्युवमा देउसीभैलो गीत खोज्छु । बम बहादुर कार्की देखि टंक बुढाथोकी र अक्षता अधिकारी सम्मका अनेक रुप-स्वरुपका देउसीभैलो बज्छन् । तिनका स्वाद नितान्त अलग छन्, परन्तु केहि गुण समान लाग्दछन् । ती सबै धुनका झरीले मेरो हृदयको पखेरामा सुदूर स्मृतिको मूल फुटाइदिन्छन् । तर के ती स्मृति–बुँदहरु भर्खरै बालुवामा छापिएका पाइलाभन्दा फरक छन्? के ती मलाई रेगिस्तानी यात्रामा सघाउँछन्? मलाई लाग्दछ ती स्मृतिका जलधाराहरु नै हुन् जो मेरो आँत भिजाएर प्यास शान्त पार्न सक्छन् । म त्यो जलधारा घटघटी पिउँछु ।
आँगनका डिलभरी सयपत्री र मखमली ढकमक्क छन् । हामीकहाँ यो साल फूल अलि धेरै नै छन् ।
“भाइटीकाको लागि अलिकति फूल है दिदि मलाई”, बटुवाहरु आमासँग फूल बुकिङ गर्छन् ।
“तोरण उन्नै पर्यो, कमसेकम गोडा दशेक माला त हामीलाई नै चाहिन्छन् । फूल धेरै देखिएको मात्रै हो । उस्तै परे हामीलाई नै पुग्दैन । पुगेछ भने बाँडम्ला ।” आमा आश्वासन दिनुहुन्छ ।
“फूल कसैलाई दिने हैन है, अलिअलि फूल त बोटमा पनि चाहियो नि, यस्तो राम्रो देखिएको छ ।” म बिस्तारै आमासँग खुसखुसाउँछु । सायद मेरो आधाउधी तिहार सयपत्रीसँगै छ । म तिहार लम्ब्याउन चाहन्छु ।
जाडो लागेकै छैन भनेर झुक्याउने त्यो बिहानी, दिउँसोको नरम सेतो घाम, टलक्क टल्किएको हिमचुली, बर्खे झरीले धोएर सुकिलो भएको आकाश, बर्खामा मोटाएर शरदमा सङ्लिएको पानीको धारा, हिउँदे तरकारी मौलाउन थालेको करेसाबारी, कान्लाभरी लर्किएका कात्तिके बोडीका कोसा । यी अनेक थुङ्गाहरु उल्लासको डोरीमा एक–एक उन्दै म एउटा माला बुन्छु र तिहारलाई दैलोमा स्वागतार्थ पहिर्याइदिन्छु ।
कागतिहारमा स्कूलले बिदा दिँदैन । हतारमा बिहानै स्कूल दौडियो । कागलाई भात दिएको र खाएको हेर्न अहिलेसम्म पाएको छैन । चारपाँच वर्षयता घरमा कुकुर भएकोले कुकुर पूजा गर्न चाहिँ खुब रमाइलो छ । चट्ट परेको माला लगाइदियो, तर दुई सेकेण्ड टिक्दैन, लुछेर फालिहाल्छ । लगाइराखे कति राम्रो देखिन्थ्यो? गाईपूजा गर्न चाहिँ सास्ती । एउटा गाई पाल्न पाए तिहारमा रमाइलो हुँदोहो । जनैपूर्णिमाको रक्षाबन्धन गाईतिहारको दिन गाईको पुच्छरमा बाँध्ने चाहिँ मेरो लागि उखानै भयो । दुईचार दिनमै रक्षाबन्धन कालो हुन्छ, अनि राख्नै मन लाग्दैन । तिहारसम्म कसरी टिकाउने?
साँझ पर्छ । लक्ष्मीपूजा हुन्छ । म दीपावलीको बत्ती तयार गर्छु । ओसिलो केराको सुत्लोमा चटचट गर्दै झ्याल ढोकाका सङ्घारको श्रृङ्गारमा जुट्छन् दीपसिखाहरु । पिँढीको डिलभरी मैनबत्ती लहरै बल्छन् । बत्तीका ससाना लप्काहरु मधुरो हावामा फिरफिर नृत्य गर्छन् । आहा, त्यो औँसी पनि यति कान्तिमय र उत्सवमय भइदिन्छ जसै पहिरिन्छ गलाभरी दीपमालिका । दैलोमाथी सयपत्रीको माला लर्किन्छ । पर कतै घन्किन्छ देउसीभैलो - हे औँसी बार गाइतिहार भैलो ...। रात छिप्पिँदो छ, तर सेल र अनरसा पकाउने चटारो सकिएको छैन ।
आज भाइटीका । तिहार सकिन लागेकोले मन अलि खिन्न जस्तो छ । तर पात्रोमा सकिन लागेपनि धर्ती, आकाश, हावा, सेल–अनरसाका डाली–नाङ्लाहरुमा अँझै बाँकी छ तिहार । सयपत्रीका बोटहरुसँग एक छिमल कोपिला अँझै बाँकी छन् । मनलाई आश्वस्त पार्छु । मेरो गलाभरी सयपत्री र मखमलीका मालाहरु गमक्क छन् । म त्यो सयपत्रीको सुगन्ध र शीतलतालाई कसरी व्याख्या गरुँ? हावामा छताछुल्ल तिनका सौरभ म कुन शब्दले बयान गरुँ जसमा मेरा रोमरोम रोमाञ्चित छन् । म मन्त्रमुग्ध भएर लठ्ठिन्छु । ओहो, सयपत्रीको सुवास घोलिएका ती अनमोल हावाका झोँकाहरु यसै खेर गैरहेछन् । संगालेर पो राख्न पाए हुन्थ्यो कि? म हृदयभरी संग्रह गर्छु । सयपत्रीका शीतल नरम पत्ताहरु गला सुमसुम्याउँछन् । म आँखा चिम्म गरेर त्यो अमृत पान गर्छु । फेरी मखमलीका तिखा पत्ताहरु चुस्स –चुस्स गला घोच्दछन् । म झस्किँदै आँखा खोल्छु । तर ती पनि भाइ–भगिनीका बचपनका क्षणिक झगडा झैँ प्रिय लाग्छन् । सयपत्री र मखमलीका रङ्गले मेरो हृदय श्रृङ्गारिन्छ ।
म स्मृतिको जलधारामा एकाकार भइ बग्दछु र लुछुप्पै हुन्छु । मेरा कोष–कोष भिज्दछन् । तर के ती जलधारा मेरो कथायात्राका नित्य सहायक हुन्? कि फगत भड्काउन आएका बाहनाहरु? तर जे होस् आज मलाई तीसँगै बग्न मन लाग्यो, म बगिरहन्छु । मेरो हृदयमा अनौठो शान्ति जस्तो छाउँछ । तर यो शान्ति नै पो हो कि होइन, मैले ठ्याक्कै भेउ पाएको छैन । म एकैछिनमा शीत झैँ द्रवीभूत हुन्छु । अनयास आँखाबाट केहि ताता मोतीदाना खस्छन् । ती मोती तृष्णा थिए कि तृप्ति? त्यो पनि म जान्दिन । जे होस् ती मेरो रापको भारी बोकी जलधारामा बिलिन हुन्छन्, र मेरो ज्वर कम गरिदिन्छन् । ती हृदय धोइदिने निकै असरदार डिटरजेन्ट हुन् । म सङ्लो, हलुङ्गो र शीतल हुन्छु । म ती जलधारा र मोतिदानासँग कृतज्ञ छु ।
No comments:
Post a Comment