ताइवान दशैं जान्दैन । तर यहाँको धर्ती आकाशले यो "दशैँ महिना" लागेको कस्तो ठ्याक्कै थाहा पाएको? एक पटक लहडमा आफु आजसम्म डुलेका धर्तीका दुइ सुदुर बिन्दुहरु बिचको दुरी गुगल अर्थमा नापेको थिएँ, करिब दश हजार किलोमिटर रहेछ । धर्तीको समग्र फैलावट अगी यो नगण्य दुरीले मलाई परिपक्व अनुभव त पक्कै दिन सक्दैन । तथापी यी दुइ बिन्दुहरु बिच जहाँ-जहाँ पुगेँ, मैले त्यहाँको धर्ती, आकाश र प्रकृतिमा खास भिन्नता देखिन । खोलानाला उस्तै बग्दथे । रुखविरुवाका छहारीहरु पनि भिन्न थिएनन् । चराचुरुङ्गीहरु एउटै भाषा बोल्दथे । मेरो गाउँको टौवाको मुलीमा बसेर कराउने कागको “काऽऽ... काऽऽ...” बुझ्नका लागि ताइवानी कागले गुगल ट्रान्सलेटको साहारा लिइराख्नु पर्दैन । म त शिवपुरी जंगलमा साउन/भदौमा दिनरात झ्याउँ-झ्याउँ कराउने झ्याउँकिरी र मेरो डाेर्मिट्री पछाडीको पखेरोमा वर्खाभरी निरन्तर कराउने झ्याउँकिरीको बासाइमा पनि खासै भिन्नता पाउँदिन । भ्यागुता उस्तै ट्वारट्वार गर्छन्, सारौँ उसैगरी बाँसघारीमा हल्ला गर्छन् । न्याउली उस्तै रुन्छन् । कोइली उही “कोहो...कोहो” भन्दै गीत गाउँछन् । सम्झन्छु, यहाँका कोइलीहरुले चाइनिज रक्स गाइदिए कस्तो सुनिएला? वा आधुनिक पश्चिमा संस्कृतिबाट प्रभावित कुनै दुनियाका मुजुरहरुले पनि उस्तै “आधुनिक” डान्स गरिदिए कस्तो देखिएला? तर जहाँ जाउँ, ति सब उस्तै बोल्छन्, गाउँछन्, नाच्छन् । तिनका भाषा र बाेली मात्र हाेइन, उत्सवका रंग पनि मिल्दा हुन् । सायद पाओलो कोहेलोले “द अल्केमिस्ट” मा उल्लेख गर्नुभएकाे “युनिभर्सल ल्याङ्ग्वेज” यहि हाे । यि जिवजन्तु, चराचुरुङ्गीहरु त्यही “युनिभर्सल ल्याङ्ग्वेज” बोल्छन्, र एकअर्कालाई बुझ्छन् । नबुझ्ने, नमिल्ने त मान्छे र मान्छेको सृष्टि मात्रै रहेछ । के मान्छेले त्यो “युनिभर्सल ल्याङ्ग्वेज” साँच्चै भुलिसकेको हो? कि अंशवण्डा गरिदिएको?
यो हाम्रो कस्तो सभ्यता हो जसमा एउटाको उत्सव अलि पर पुग्ने बित्तिकै सेलाइदिन्छ? यो हामीले कस्तो भाषाको सृजना गर्यौँ जो अलिक पर एउटा धर्सो पार गर्ने बित्तिकै अर्थहिन बनिदिन्छ? मेरो मन चाउरी पर्छ । कतै पढेको थिएँ कि कैयन् फिरन्ते चराचुरुङ्गीहरु साइवेरिया देखि नेपाल, भारत सम्म वर्षै पिच्छे आउने जाने गर्छन् । आर्टिक टर्न यस्तो चरा रहेछ जो हरेक वर्ष पृथ्वीकाे उत्तरी ध्रुव देखि दक्षिणी ध्रुव सम्म करिब २५,००० माइल सम्म काे उडान भर्छन् । साँच्ची, मानिसको जस्तै रेखा-रेखाले काटेको, भाषा-बोलीले छुट्याएको संसार भैदिएको भए तिनीहरुको यात्रा कति दुष्कर हुँदो हो?
मलाई यहाँनेर आइपुग्दा अलिकति डर लागेको छ । कतै जीवशास्त्रका धुरन्धरहरु वैज्ञानिक शस्त्र बोकेर भिडन्त गर्न म माथी आइलाग्ने पो हुन् कि? वा समाज र सभ्यताका विज्ञहरुले म उपर अतिवादको आरोप पो लगाउने हुन् कि? मैले भर्खरै चर्चा गरेको विविधता, समानता र सभ्यतालाई विश्लेषण गर्ने अनेक नजरहरु हुन सक्छन् । मेरो यो अनुभूती उनीहरुको विश्लेषणसँग मेल नखान सक्छ ल? तथापी म मान्छेको संसारको विविधतालाई नकारात्मक चित्रण गर्न खोज्दै भने छैन । विविधता त झन् सुन्दर हुन्छ । मानिसले सायद एक तमासे भेषभुषा, भाषा, संस्कृतिबाट वाक्क भएर यो विविधताको सृजना गरेको पो हो कि? तर अहँ, मान्छेको यो सभ्यता, भाषा, संस्कृति खाली शक्तिको प्रकटीकरण बाहेक अरु केहि होइन । के "क्रिसमस" र "अंग्रेजी" जत्तिकै "दशैँ" र "नेपाली" पनि संसार भर बिकेको छ?
वालकोनीको एउटा भित्तामा आड लाग्छु । यो विविधता र समानताको कथा जे-जस्तो भएता पनि मन एउटा अनौठो सृष्टिमा मग्न भैदिन्छ । ऊ मेरो सामुन्नेको मोटरसाइकल पार्किङ लटको ठाउँमा मकै र धानको बिस्कुन सुकाइदिन्छ । अलि परको बसपार्कलाई गाइगोठले प्रतिस्थापित गरिदिन्छ । आँगनभरी पारिजात फुलाइदिन्छ । फेरी मेरो आँखा पर ताइचुङ सिटीको स्काइलाइनमा पर्छ, जहाँ ऊ लिगलिग पहाड सर्लक्क राखिदिन्छ । लिगलिग पछाडी माछापुच्छ्रे, अन्नपुर्ण र मनास्लु कोरिदिन्छ । सेतो हिमश्रीङ्खला असाेजको घाममा टलक्क टल्कन्छ । मानसपटलमा वषौँ देखि संगाली राखेको "दशैँ महिना"को सुनौलो स्मृतीलाई मन मधुरस झैँ पान गर्छ । फेरी मन उन्मत्त भइ चङ्गा बनेर उँड्न थाल्छ । भर्खर मकै भाँचिसकेर भट्टमास र कात्तिके बोडी लहलहाइ रहेको पाखो बारीमा म लट्टाइ घुमाउँदै बुर्कुसी मार्छु र मनको चङ्गा उँडाइरहन्छु । चङ्गाले लिगलिगको चुचुरो उछिन्छ । कान्लाभरी लरक्क लर्केको खरुकीको टुप्पामा टिलपिलाइ रहेको चिसो शीतले लुगा लुछुप्पै भिजाइदिन्छ ।
मेरो मनले मनाइरहेको यो उत्सव शक्तिको बलमा लादिएको पर्वको उत्सव नितान्त हाेइन, भलै यसमा दशैँको रंग मिसिएको जस्ताे किन नदेखियाेस् । यो उत्सवको खास रंग त तिनै जिवजन्तु, चराचुरुङ्गीले मनाउने उत्सवको रंगसँग मिल्दोजुल्दो छ । मन त्यहि फिरन्ते चरा हो, जसलाई न कुनै रेखाले छेक्छ, न त कुनै सिमानाले । उ आर्टिक टर्न जस्तै कावा खाँदै उँडिरहन्छ, उही “युनिभर्सल” उत्सवकाे रंगमा रमाउँछ । मनको उडानमा मग्न हुँदै म पनि एक्लै मुस्कुराउँछु ।
काम लठपत्रै छ, मेरो मस्तिष्क झस्किन्छ । मनलाई कसरी कन्भिन्स गरेर फिर्ता बोलाउने? मस्तिष्क एउटा जुक्ति निकाल्छ । उ मनलाई अतिवादको आरोप लगाउँछ । तँ जहाँ जाँदा पनि लिगलिग, माछापुछ्रे, अन्नपुर्णले अतिक्रमण गरिदिने? अनि के शरदको रंग यत्तिकै सुन्दर छैन र यसमा दशैँको रंग पोत्नु पर्ने? त्यसो त अस्ती भर्खर मिड अटम फेस्टिभलका रंगिन ल्यानट्रन बत्तीहरु तेरो स्मृतीबाट निभिसके? मुन केकको स्वाद पनि बिर्सिस्? गोस्ट फेस्टिभलको भूतपूजा कम्ता अनौठो थियो? ताइवानमा दशैँ लाद्नु न्यायोचित छ? यहाँ लिगलिगले अतिक्रमण गर्दा युशानको उचाइको अपमान हुन्न? सायद मन मान्दछ र तुरुन्त आफ्नो सृष्टिको विनाश तर्फ लाग्छ । फेरी भर्खरैको गाइगोठमा मोटर डुक्रिन थाल्छ । बिस्कुन मनै भित्र बिलिन हुन्छ । लिगलिग र हिमश्रृङ्खलाहरु ताइचुङ स्काइलाइनमै गायब हुन्छन् । फरक सौन्दर्य बोकेको अर्को नयाँ सृष्टि मेरो आँखा अगाडी साकार हुन्छ । मेरो मस्तिष्क आश्चर्य मान्छ । ओहो! मन जत्तिको शक्तिशाली त अरु काे होला? मनका लागी यस्ता उत्थान-पतनहरु बायाँ हातका खेल न हुन् । म त भन्छु मन नै हो ब्रम्हा, बिष्णु, महेश ।
मन वालकोनीको "लन्चप्याड"मा फिर्ता भएर थुपुक्क बस्छ र चिसो बतास पान गर्दै शान्त हुन्छ । उ दायाँ पट्टी पहाडमा उही शारदीय “युनिभर्सल” रंग देख्छ । अगाडी र बायाँ पट्टी ताइचुङ सिटी उही “युनिभर्सल” उत्सवमा झुमेकाे देख्छ। अब पुग्याे त? म उसलाई फकाइ वरी फेरी काममा फिर्ता गराउँछु ।
✍️ नारायण धिताल । अशाेज २, २०७६ । ताइचुङ, ताइवान ।


No comments:
Post a Comment