Pages

Sunday, April 28, 2013

वायोचार

अंगार अर्थात गोललाई मानव सभ्यताकै पहिलो मानव निर्मित पदार्थको रुपमा विविध शोधहरुले व्याख्या गरेका छन्, जसलाई झण्डै ३८,००० वर्ष भन्दा पुराना अंगारद्वारा निर्माण गरिएका क्रोम्याग्नन मानवका कलात्मक सृजनाहरुले पुष्टि गर्दछन् । २१ औं शताब्दीको यो अति आधुनिक युगमा मानव सभ्यता सामु चुनौतीको रुपमा देखा परेको जलवायु परिवर्तनलाई न्यूनिकरण गर्न यहि अंगारलाई बायोचारको रुपमा माटोमा प्रयोग गर्न सकिने सम्भावना बारे विश्वभर वैज्ञानिक अनुसन्धानहरु भैरहेका छन् ।
 
जैविक पदार्थलाई बिना अक्सिजन वा न्यून अक्सिजनमा करिब २५० देखि ५०० डिग्री सेल्सियस तापक्रममा तताउंदा कार्वनयुक्त अंगार अर्थात चारकोल उत्पादन हुन्छ, माटोमा प्रयोग गरिने सन्दर्भमा यस अंगारलाई वायोचार भनिन्छ । खरानीलाई खेतबारीमा प्रयोग गर्नु नेपाली कृषकहरुको प्राचिन ज्ञान हो तर माटोमा अंगारको प्रयोग गर्ने चलन भने नेपालमा खासै भएको पाईंदैन । तथापि करिब ४००० वर्ष पहिले दक्षिण अमेरिकाको अमेजन क्षेत्रमा माटोको उर्बराशक्ति बढाउन बायोचारको प्रयोग गरिनुले यस सम्बन्धि ज्ञान धेरै पुरानो भएको पुष्टि हुन्छ । बायोचारको प्रयोगले जलवायु परिवर्तनको दर न्यूनिकरण र माटोको उर्बराशक्ति बृद्धि गरि दोहोरो फाइदा पुर्याउन सक्ने मात्र नभई अप्रत्यक्ष रुपमा अन्य धेरै फाइदा पुग्ने भएकाले यसतर्फ धेरै शोधकर्ताहरुको चासो बढेको छ ।

पेट्रोलियम इन्धन पत्ता लागे लगत्तै पश्चिमा राष्ट्रहरुबाट औद्योगिक क्रान्ति सुरु भएको थियो । लाखौं वर्षदेखि जमिन भित्र सञ्चित भएर बसेको पेट्रोलियम इन्धनको कार्वन यसको ज्वलन पछि कार्वनडाइअक्साइडको रुपमा वायुमण्डलमा उत्सर्जित हुन थाल्यो । कार्वन सञ्चितिकरणको प्राकृतिक दरले कार्वन उत्सर्जनको दरलाई थेग्न नसक्दा विगत केहि शताब्दी यता, विशेषत २० औं शताब्दीमा पृथ्वीको वायुमण्डलमा कार्वनडाइअक्साइडको मात्रा अत्याधिक बढ्न पुग्यो र यसलाई जलवायु परिवर्तनको प्रमुख मानविय कारकको रुपमा वैज्ञानिकहरुले विश्लेषण गरेका छन् । हाल द्रुत गतिमा भैरहेको जलवायु परिवर्तनलाई न्यूनिकरण गर्न कार्वन उत्सर्जन र सञ्चितिकरणको दरलाई सन्तुलन गर्नु जरुरी हुन्छ र यस्तो सन्तुलन स्थापित गर्न बायोचारलाई महत्वपूर्ण विकल्पको रुपमा लिइएको छ ।

वनस्पतिले प्रकाश संस्लेषणको क्रममा वायुमण्डलबाट कार्वनडाइअक्साइडलाई सोसेर जैविक पदार्थमा परिवर्तन गरि आफ्नो तन्तुहरुमा सञ्चय गर्छ । तर वनस्पतिय तन्तुहरु इन्धनको रुपमा बल्दा वा प्राकृतिक रुपमा कुहिंदा उक्त कार्वन पुनः वायुमण्डलमा नै फर्कने गर्छ । तसर्थ यस्तो कार्वन सञ्चितिकरण छोटो समयको लागि मात्र हुने गर्छ । वनस्पतिय तन्तुको विपरित बायोचार माटोमा शताब्दियौं सम्म स्थिर रहने भएकोले यसमा सञ्चित कार्वन वायुमण्डलमा उत्सर्जित हुन पाऊँदैन र यसको वायुमण्डलीय कार्वनको मात्रामा खुद ऋणात्मक असर पर्दछ । पृथ्वीभर माटोमा प्राकृतिक रुपमा सञ्चित कार्वन जैविक पदार्थमा सञ्चित कार्वन भन्दा ३ देखि ४ गुणा ज्यादा रहेकोले माटोलाई कार्वन सञ्चितिकरणको महत्वपूर्ण अंगको रुपमा लिइन्छ । वनस्पतिजन्य जैविक पदार्थलाई बायोचारमा परिणत गरि माटोमा मिसाउन सकेमा जमिनबाट उत्खनन गरिएको पेट्रोलियम इन्धन बाल्दा उत्सर्जन हुने कार्वनलाई केहि मात्रामा भए पनि सन्तुलन गर्न सकिने कुरा प्रष्ट छ । यसर्थ बायोचारलाई जलवायु परिवर्तनको गति कम गर्ने एउटा महत्वपूर्ण उपायको रुपमा लिइएको छ ।

बायोचारको प्रयोगले माटोको उर्बराशक्ति बृद्धि हुनु यसको अर्को महत्वपूर्ण फाइदा हो । बायोचारले माटोको पानी तथा पोषक तत्वहरु संचय गर्ने क्षमता बृद्धि गर्छ । यसका अतिरिक्त माटोमा भएका विषाक्त तत्वहरुलाई सोसेर लिई स्थिर गरिदिन्छ । यसको प्रयोगले माटोको अम्लियपना घटाउने मात्र नभइ माटोबाट मिथेन तथा नाइट्रस अक्साइड जस्ता हरितगृह ग्याँसहरुको उत्सर्जनमा समेत कमि आउने अनुसन्धानहरुको दाबी छ । जर्नल अफ ब्राजिलिएन केमिकल सोसाइटीद्वारा प्रकाशित एक वैज्ञानिक शोधका अनुसार बायोचारको प्रयोगले बढिमा ३०० प्रतिशत सम्म माटोको उत्पादनशिलता बढ्न सक्छ भने पोषक तत्वको चुहावटमा कमि आई रासायनिक मलको प्रयोग समेत घट्न सक्ने देखिन्छ । कृषि उत्पादन बढाउन प्रयोग गरिने मल लगायतका विविध रसायनहरुको प्रयोगमा कमि आउादा यस्ता रसायनहरुको उत्पादन कार्यद्वारा उत्सर्जित कार्वनको मात्रा समेत घट्न गई अप्रत्यक्ष रुपमा फाइदा पुग्न सक्छ ।

जैविक पदार्थबाट बायोचार उत्पादन गर्दा नचाहिने पदार्थको रुपमा विविध प्रज्ज्वलनशिल ग्याँस तथा तरल पदार्थहरु निस्कन्छन् जसलाई क्रमशः सिनग्याँस र बायोआयल अर्थात बायोडिजेल भनिन्छ । उचित प्रविधिको प्रयोगद्वारा यस्ता प्रज्ज्वलनशिल पदार्थहरुलाई संकलन गरि सफा इन्धनको रुपमा प्रयोग गर्न सकिन्छ । यसलाई वैकल्पिक उर्जाको रुपमा प्रयोग गरि पेट्रोलियम इन्धनको प्रयोगमा समेत केहि कमि ल्याउन सकिन्छ ।

माटोमा बायोचारको प्रयोग सम्बन्धि यस्ता आकर्षक सम्भावनाहरुका पछाडी प्रशस्त चुनौतीहरु पनि नभएका होइनन् । वनफडानी विश्वकै ज्वलन्त पर्यावरणीय समस्या रहेको परिप्रेक्ष्यमा बायोचार उत्पादनका लागि आवश्यक पातपतिङ्गर लगाएतका जैविक वस्तुहरुको दीगो उत्पादन पहिलो चुनौती हो । बायोचारको प्रयोगद्वारा कार्वन सञ्चितिकरण सम्बन्धि उल्लेखनिय फाईदा हाँसिल गर्न यसलाई विश्वव्यापी अभियानको रुपमा लिनु जरुरी हुन्छ अन्यथा स्थानिय रुपमा सिमित क्षेत्रमा गरिएका प्रयासहरु यस सन्दर्भमा नगण्य हुन सक्छन् । यसका अतिरिक्त माटोको उर्बराशक्तिमा बायोचारले पार्ने सकारात्मक असरहरु सम्बन्धि नतिजाहरु सर्वव्यापी नहुन सक्छन् । अर्थात् कतिपय उर्बर माटोको उत्पादनशिलतामा बायोचारको प्रयोगले खासै उल्लेखनिय प्रगति नहुने पनि शोधकर्ताहरुको दाबि रहेको छ । यस्ता स्थानहरुमा बायोचार प्रयोगको प्रत्यक्ष फाइदा नदेखिने हुादा यसतर्फ कुनै आकर्षण नहुन सक्छ । तसर्थ बायोचारलाई जलवायु परिवर्तनको ओखतीको रुपमा लिनु पहिले यसका नतिजाहरु के कस्ता हुन्छन् भनि विश्वभर वैज्ञानिक अनुसन्धानहरु हुनु जरुरी हुन्छ । बायोचार प्रयोगका प्रत्यक्ष र स्थानिय फाईदाहरु बढाउन सके मात्र जलवायु परिवर्तन सम्बन्धि विश्वव्यापी समस्यामा यसको मापनयोग्य योगदान बारे कल्पना गर्न सकिन्छ

नेपालको सन्दर्भमा सामुदायिक वन नै प्रमुख वन व्यवस्थापन प्रणालीको रुपमा स्थापित भएको छ । हरेक सामुदायिक वनहरुमा वर्षेनी हुने झाडीसुधारका कार्यहरुबाट प्रशस्त मात्रामा काम नलाग्ने पातपतिङ्गरहरु उत्पादन हुने गर्छ जसको केहि सिमित ठाउंहरुमा बायोब्रिकेट बनाउन प्रयोग गरिएको छ भने अन्य स्थानहरुमा कुनै उपयोग गरिएको पाइदैन । बायोचार उत्पादन सम्बन्धि आधुनिक प्रविधि अपनाउन सके यस्ता सामुदायिक वनहरुबाट प्रशस्त बायोचार उत्पादन गर्न सकिने सम्भावन देखिन्छ । यसबाट स्थानिय रुपमा वन उपभोक्ता तथा कृषकहरुलाई लाभान्वित हुने अवसर प्राप्त हुन सक्छ भने विश्व कार्वन बजार मार्फत राष्ट्रिय रुपमा लाभान्वित हुन सक्ने सम्भावनाहरु पनि रहन्छन् ।

बायोचारलाई जलवायु परिवर्तनको सन्दर्भमा कार्वन सञ्चितिकरण बृद्धि गर्ने एक आकर्षक विकल्पको रुपमा लिन सकिन्छ । कृषि र उर्जा क्षेत्रमा लिन सकिने फाइदाहरुले पनि यसको प्रयोगलाई स्थानिय स्तरमा उत्साह प्रदान गर्न सक्छ । बायोचार प्रयोग सम्बन्धि हालसम्म गरिएका विविध अनुसन्धानका नतिजाहरुबाट यसका सम्भावनाहरु बारे प्रशस्त आशावादी हुन सकिन्छ भने नेपालमा पनि यससम्बन्धि विस्तृत अनुसन्धान हुनु जरुरी देखिन्छ ।

✍️ नारायण धिताल । भदाै २८, २०७० । काठमाडाैं । गोरखापत्र, २०७० बैशाख १४ गते प्रकाशित ।

No comments:

Post a Comment