साउने झरी बादलु माथी आकाशै ढाकेको
नागबेली पार्दै कमिला ताँती काँ जान आँटेको ?
मलाई लाग्यो, पक्का पनि यिनीहरु ओभानो ठाउँ खोज्दै आएको हुनुपर्छ । कमिलाको ताँती पिँढी पार गर्दै दैलोठेलोतिर उकालो लाग्यो । मनमनै सोचेँ-“आफ्नो घरमा खरको छाना चुहिएर हैरान भैराखेको बेलामा यिनीहरुलाई खुब ओभानो चाहिने ? यी त बेसरी चर्कने गरी टोक्ने कमिलाहरु पो हुन् त ।”
एउटा छेस्को लगेर ताँतीको बीचमा तेर्स्याइदिएँ । कमिलाको ताँती खण्डीत भयो । ताँतीको पछिल्लो खण्डको अगाडिको कमिलो एकैछिन अल्मलियो । फेरी छेस्कोलाई घुमेर अगाडिको ताँतीमा हार मिलायो । बाँकी सबले उसलाई पछ्याए । छेस्को हटाइदिएँ, तर पनि बाङ्गीएकाे कमिलाको ताँती सोझिएन । चर्कने कमिलाको लामो लस्कर ढोका भित्र प्रवेश गरिरह्यो ।
म कमिलाको रमिता हेरिरहेको थिएँ । बेलुकीको करिब पाँच बजेको थियो । एक्कासी बाख्राको बथान कुद्दै आयो । गोठालो जानुभएको आमा र ठूली (दिदि) को अत्तोपत्तो थिएन । झरीको कारणले बाख्राहरु कुद्दै अगाडी आएको हुनुपर्छ । मुसो झैँ निथ्रुक्क रुझेका बाख्रा आँगनमा देख्नै नभ्याई पिँढीमा भरिभराउ भए । मेरो ध्यान र कमिलाको ताँती तितरवितर भयो । रुझेको बाख्राको नमिठो गन्ध ठस्स गनायो ।
यसै त बाछिटा र छानाबाट चुहिएको पानीले भिजेको पिँढी त्यसमाथी बाख्राले कुल्चेर पुरै भत्काइदियो । गोठतिर धवाउन खोजेँ । तर ओभानो खोज्दै आएका बाख्रा काँदिएर डेग चलेनन् । साना पाठाहरु जिउ फड्कार्दै थिए, माउहरु चाहिँ चिसोले सिकसिकाएर अगाडिको खुट्टो भुइँमा ठोक्दै उभिएका थिए । बल्ल बल्ल धकालेर दुइ तीन वटा माउहरुलाई आँगनमा झारेँ । एकै फड्कोमा तिनीहरु गोठको टाँडमा उक्लिए । तिनीहरुलाई बाँध्न गोठ तिर गएँ । गोठबाट फर्कँदा पिँढीमा एउटै बाख्रा थिएनन् । कुद्दै भान्छा भित्र छिरेँ । सब बाख्राको भागाभाग मच्चियो । कुनैका मुखमा मकैका घोगा थिए त कुनैका मुखमा चामलका बुझा । नङ्ग्याएको एक थुन्से मकै र केलाएर राखेको एक नाङ्लो चामल ढोका देखि पिँढी र आँगन सम्म छर्दै सबै बाख्रा गोठतिर दौडिए । एउटा माउ भने अझै पिंढीमा उभिएर मकैको घोगा मुखमा मिलाउँदै थियो । त्यहि बिचरो मेरो फेला पर्यो । रिसले आगो भएको थिएँ । त्यसलाई एक दनक बेसरी हिर्काएँ । अनि त्यो पनि गोठतिर कुलेलम ठोक्यो ।
लौ बित्यासै पर्याे आज । बाख्राले यो विध्वँस मच्चाइदियो । पिँढी पनि भत्किएर हिलाम्य । पिँढीको गुन्द्री पनि उठाउन बिर्सेछ, पुरै पानीले भिजेछ, त्यसमाथी बाख्राको हिलो खुट्टाले कुल्चेर बिजोगै पारिदियो । आमाको सम्भावित चड्कन सम्झेर मेरो होस उँड्यो ।
घर पछाडी घाँसको भारी बिसाएको आवाज आयो । सायद आमा आइपुग्नु भयो । म के गरौँ र कसो गरौँ भैरहेको थिएँ । आँगनबाट ओड्ने प्लाष्टिक तर्काउँदै ठूली पिँढीमा उक्लिएको देखेँ ।
ठूली-“ओइ के गरेको यस्तो? पख् अब आमाले मार्नुन्च तँलाई ।”
म केहि नबोली रुन्चे मुख लगाएर गोठतिर गएँ र बाख्राहरु बाँध्न थालेँ । बाँध्ने क्रममा सबैलाई एक एक चोटी थुतुनोमा हिर्काएर बदमासीकाे सजायाँ पनि दिएँ ।
आमा निथ्रुक्क भिजेका लुगाहरु फेर्दै हुनुहुन्थ्यो । आमाको कपाल, अनुहार, घाँटी र पाखुरामा शिरिषका जस्तै देखिने मसिना घाँसका पातहरु टाँसिएका थिए । गला र पाखुरा भर घाँसले पाछेका राता डामहरु देखिन्थे ।
आमा-“जा ठूली भित्र किलामा मेरो लुगा छ, लेराइज”
ठूली-“सुकेकै रैन्च नि त आमा”
आमा-“लेराइज न खुरुक्क बाह्र सत्ताइस कुरो नकाटी”
आमाको लुगा ल्याइदिएपछि ठूली मजेरी र पिँढीमा छरिएको मकै टिप्न थालिन् । म पनि ठूलीसागै लुसुक्क मिसिएर मकै टिप्न थालेँ ।
लुगा फेर्दै आमा कराउनुभयो-“यो साने कता मुन्ट्या’थ्योे हँ?”
‘साने’ भनेको सुन्ने बित्तिकै म झसंग भएँ ।
आमाले थप्नुभयो-“दिनभर घर थेच्चिनु छ अनि यति बाख्रा पनि धबाउन सकिनस् ? लौ हेर त मकैको बिजोक । चामल नि सब पोखेच । एउटा केइ कामको भर छैन ।”
पानी झन् झन् दर्किन लाग्यो ।
आमा फेरी कराउनुभयो-“यो कुकुरको ... नि कति पर्दो रैच । दुइ दिन देखि आँखा उघार्या छैन । मान्छे नि मार्नी भो, बस्तुभाउ नि मार्नी भो ।”
मनमनै भनेँ-“कुकुर त थोरै थोरै पिसाब फेर्दै दौडिने जनावर । यो दुइदिन देखिको निरन्तर झरीलाई किन ‘कुकुरको ...’ को उपमा दिइएको होला ? कुकुरको ... भन्या त फिटिक्कै मिलेन लौ ।”
आमाको आवाजले झस्किएँ । “जा साने, गोठको हारबाट ओभाना ओभाना दाउरा छानेर ल्याइज ।”
आमा आगो फुक्न भित्र छिर्नुभयो । अगेनामा धूवाँ पुत्ताउन थाल्यो । आमाले चिसो पछ्यौरा अगेना माथी फिँजाएर सुकाउन थाल्नुभयो ।
आमा-“सानी काँ गइ त खै?”
म-“धाराँ”
मैले सटिक उत्तर दिन नभ्याउँदै आँगनमा गाग्री सहित सानी (दिदि) पछारिएको आवाज आयो । सबैजना बाहिर निस्कियौँ । गाग्रीको मुख रक्सीको घुट्की लिँदाको जँड्याहाको मुख झैँ कुच्चिएर बिरुप भएको थियो । सानीको स्कर्ट पुरै हिलाम्य । हरियो काउली परेको आँगनमा चार हात लामो चिप्लिएको डाम थियो । गाग्रीको कुच्चिएको मुख र सानीकाे रून्चे अनुहार देखेर मैले हाँसो खप्नै सकिन । मुख छोपेर लुसुक्क भित्र छिरेँ ।
आमा कराउनुभयो-“लौ हेर त । तँलाई ठूलो गाग्री कल्ले लैजा भन्याथ्यो ? सानो गाग्रीमा ओसार्न सक्थिनस् ? नकुच्चेको यहि एउटा गाग्री थ्यो, त्यो नि कुच्याइस् । हैन ति आंखा चैँ के हेर्न बनाकाे हो कुन्नी ?”
सानीले पनि केहि बोल्ने अवस्थै थिएन ।
आमा चिया पकाउन तिर लाग्नुभयो । चिया पकाउने दुध झिक्दा सदा झैँ अलिकति दुधको तर हामी तीनजनाकै हातमा पालाेपालाे प्यात्त हालिदिनुभयो । चिया खाइसक्दा सम्म स्थिती सामान्य भइसकेकाे थियाे । सानी र म दुवैजनाका गल्तीहरू माफी भइसकेका थिए ।
साउन नै भए पनि झरिले गर्दा अलिअलि चिसो थियो । अगेनामा तरकारी पाक्दै थियो । हामी सबै दिदिभाइ हात फिँजाएर अगेनाको छेउमा मस्तीले आगो ताप्दै छेउ न टुप्पोका गफ गर्दै थियौँ । आमा गोठमा भैँसी दुहुँदै हुनुहुन्थ्यो । आमाले भैँसीलाई गाली गर्नुभएको सुन्यौँ । हामी बाहिर निस्कियौँ । त्यसदिन बाख्रा, गाग्री र झरीले भर्खरै खल्बल्याएको घरको शान्ति सुरक्षाको स्थितीमा भैँसीले मरमसला थपिदिएछ । दुहेर उठ्ने बेलामा खुट्टो चलाएर बाल्टीमा टेकिदिएछ । आधि बाल्टी दुध थलामै पोखियो । बाल्टीको बाँकी दुधमा समेत गोबरै गोबर । आमाले त्यो गोबर मिसिएको बाँकी दुध पनि भैँसीको थलामै हुत्याइदिनु भयो ।
“अलच्छिनी बन्चरो, खालास् अब मिठो मिठो घाँस । रातदिन झरी बादल नभनी यस्को चाकरी गर्नुछ । दुहुने बेलाँ लात्तो हान्छ ।”
झरी बिस्तारै रोकिन लाग्यो । साँझ पर्यो । खाना खाने बेला भयो । तरकारीमा घिरौँला मिसिएको थियो र म घिरौँला खाँदैनथेँ । त्यो साँझ दुध पनि थिएन । तर घिरौँलाकाे तरकारीमा किचकिच गर्न पनि डर लाग्यो । म भात खेलाउँदै बेजाँगरले खाँदै थिएँ ।
आमा-“कामको नाममा सिन्को भाँच्नु छैन, खान चैँ सधैँ दुध चाहिने । लौ ला, भात खेलाएको यहि पाउँछु भनेर त होला नि ।”
थाल अगी सारेँ । आमाले एक थुर्मी घिउ हालिदिनुभयो । मेरो ‘घिरौँलाको तरकारी’को बाहानामा ठूली र सानीले पनि एक एक थुर्मी घिउ पाए ।
झरी रोकिइसकेको थियो । आमाले बेलुकीको चुल्हो धन्दा सिध्याउनुभयाे । हामी दिदिभाइ भने दुइ महिने असार साउन विदाको लागीे स्कूलले दिएको 'घरको काम' गरि टोपल्ने भयौँँ, पर्सीपल्ट देखि स्कूल जो खुल्नेवाला थियो । झण्डै दुई महिना लामो वर्खे विदाले लेख्ने पढ्ने बानी नै हराउन आँटीसकेको थियो । साँडे आठ बजेदेखि नै हामी सबलाई निद्राले हाइ आउन थाल्यो । डराइ डराइ आमासँग साेधेँ-"आमा अब सुताैँ है?" जाँचमा फेल भए घर आउन नपाउने चेतावनी सहित आमाले सुत्ने अनुमति दिनुभयाे । अर्धवार्षिक जाँच त भर्खरै सकिएकाे थियाे । अब अर्काे जाँच आउने त कहिले हाे कहिले । टुकी निभाएर हामी सब घप्ल्याघुप्लुक्क सुत्याैँ । निदाउन भने बाँकी नै थियाे ।
आमा रेडियोको ट्यूनर मिलाउँदै हुनुहुन्थ्यो, ‘चौतारी’ सुन्न । तीन चार वटा फ्रिक्वेन्सीहरू जुधेर अनेक भाषामा गाइँगाइँ र गुइँगुइँ गर्दै थियो रेडियो, त्यसमाथी झरीमा सालघारी सुसाए झैँ सुसाउँथ्यो । आवाज मधुरो थियो । सायद ब्याट्री सकिन लागेकाले होला ।
आमाले भन्नुभयो-“साने ! त्यो खाेपाेमा एकजोडी पुरानो बेट्री छ ले ले ।”
म एक्कासी झस्किएँ । दिउँसो विद्युत चुम्बक बनाउन ति दुबै ब्याट्री लुसुक्क झिकेको थिएँ । सायद पिँढी तिर घाँसको चाङमा कतै परेको होला, पानीले भिजेर कामै नलाग्ने भएको हुनुपर्छ पक्कै पनि ।
म बिस्तारै बोलेँ-“दिउँसो घाम लाग्ला जस्तै भाथ्यो, तेहि भ’र टौवामा सुकाउन राखेको उठाउनै बिर्सेचु ।”
आमा कराउनुभयो-“थुक्क कुकुर । लाग्च घाम यो झरीमा । बाहाना बनाउँचस् ? एउटा केहि चिज राख्न नदिनी भो यल्ले ।”
म चुप्प लागेँ । रेडियोमा चौतारी कार्यक्रम आइरहेको थियो ।
“चौतारीमा गाउन र सुन्न पाल्नुभएका सबैलाई यो पाण्डव सुनुवार हार्दिक स्वागत गर्दछ । साउनको यो रहरलाग्दो र रमाइलो झरीको मौसममा झरीकै भाका लिएर अब आउँदैहुनुहुन्छ चौतारीको डिलमा मुसुमुसु हाँस्दै बस्नुभएका ढाका टोपी लगाउने भाई र वहाँका साथीहरु । ल भाइको परिचय पाउँ न…”
पाण्डव सुनुवारले झरीको मौसमलाई ‘रहरलाग्दो र रमाइलो’ भनेको सुनेर मलाई अचम्म लाग्यो । मनमनै सोचेँ- “के रहरलाग्दाे लागेको होला यो चिसो र हिलो मौसम, के रमाइलाे लागेको होला यो छाना चुहिने मौसम । मलाई त असोज, कात्तिकका घमाइला दिनहरु खुब मन पर्छन् ।”
रेडियोमा गीत बज्दै थियाे ।
“पानी पर्यो बनपाखा सुसायो,तिम्लाई देख्दा मन मेरो खुशायो ।खोली तरेर,भेट्न आउनेछु बेँसी झरेर ।”“हस्त दाइ यति नै…”
चौतारी सुन्दा सुन्दै कतिबेला निदाएछु पत्तै भएन । एक्कासी राती आमाको आवाजले ब्यूँझिएँ ।
आमा-“हैन यस्तो पानी चुहिँदा नि कस्तो निन्द्रा नखुलेको हो यीनको ? ओछ्यान उठाएर गुन्द्रीले छोप त । सब भिज्च नत्र ।”
सानी र ठूलीले आ-आफ्ना ओछ्यान गुन्द्रीले छोपे । आमाले पनि त्यसै गर्नु भयो । बाहिर फेरी पानी दर्किन थालेको रहेछ ।
आमा गालामा हात राखेर भित्तामा आड लिइ बस्नुभयो । हामी तीनै जना अर्धनिद्रामा हाइ काड्दै टुसुक्क बस्यौँ । पानी चुहिएको ठाउँमा बाटा थापिएको थियो । पानीको थोपाले बाटामा निरन्तर आवाज दिइरहेको थियो । बाहिर झरीको आवाज थियो । तर हामी सब मौन थियौँ ।
टुकीको मधुरो प्रकाशमा मैलै आमाको अनुहार तिर हेरेँ । आमाको गालाबाट आँशुको ढिक्का ओरालो लाग्दै थियो । सायद आमा लुकाउन खाेज्दै हुनुहुन्थ्याे, तर सानी र ठूलीले पनि अगि नै देखे होलान् आमाको आँशु, दुबैजनाको अनुहार अँधेरिएको थियो । मेरो छाती कोक्याएर आयो । मलाइ असह्य पिडा भयाे ।
छैन पीर भागोस निँद छाना चुहियोस् चाल्ना सरीहाँसीखुशी देखूँ सबै आँशु नचुहियोस् कसै गरी ।
तर आमा रूनुभएकै हाे त? मलाइ विश्वास लागेन । मनमनै सोचेँ- “एऽऽऽ आमा रुनुभएको होइन, याे त पक्का पनि धुरीबाट चुहिएको पानीको थोपा आमाको गालामा तप्किएको हुनुपर्छ । होइन रुनुभएको । रुने त केहि कारणै छैन नि । साँझदेखिकाे तेत्रो बितन्डा त चुपचाप सहिदिने मेरी आमा । अहिले त केहि भएकै छैन नि ।”
मेरो तर्क मलाई खुब चित्त बुझ्यो । मनलाई राहत मिल्यो ।
साउने झरी दिनरात परी आमा कति रुवाउँछौलालाबाला अबोध मनलाई झुक्याइकन फकाउँछौ ।
एकै छिनपछि पानी चुहिन केहि कम भयो । ओछ्यान ओभानो ठाउँतिर मिलायौँ र सबैजना फेरी सुत्यौँ ।
म निदाइसकेको थिइन । मनमा फेरी शंका उब्जियो र छाती कोक्याए झैँ भयो । अगिको आफ्नै तर्क मलाई फितलो लाग्न थाल्यो । मलाई लाग्यो, झरीका दुःख सम्झेर आमा साँच्चिकै रुनुभएको हो । तर मलाइ थाहा थियाे, अामा आफ्नाे दुःखमा कहिल्यै आंशु खर्च गर्नुहुन्न । मध्यरातमा निद्राले लठ्ठिएका आफ्ना सन्तानका निर्दाेस आंखाहरू र टिठलाग्ला अनुहारले वहाँकाे आंखा रसाएकाे हुनुपर्छ ।
अभावमा जिउन अभ्यस्त मेरो बालमनले नियमित छाउन नसकेकेा खरको चुहिने धुरीमा पटक्कै दोष देखेन । बरु कमिलाको ताँती र हाम्रो सानो सानो खुशी माथी प्रहार गर्ने, आमालाई रुवाउने त्यो साउने झरीसँग निकै रिस उठ्यो । कालो बादल भयंकर राक्षस जस्तो लाग्यो । दिनरात रुने रुवाउने साउन महिना कहिल्यै नआओस् जस्तो लाग्यो ।
मनमनै सोचेँ-“आमा रुनुभएकै हो । त्यो आँखाबाट गालामा बगेको आँशु नै हो, चुहिने धुरीबाट तप्किएको पानीको थोपा होइन ।”
✍️ नारायण धिताल । असाेज १८, २०७१ । हङकङ ।

No comments:
Post a Comment