Pages

Wednesday, October 14, 2015

कथै कथा

शहरमा कथा, उपन्यासका किताबहरु खुब बिक्न थालेका थिए । कथाकार, उपन्यासकारहरु पनि दिनदिनै चर्चित हुँदैथिए । यस्तैमा मलाई पनि एउटा उत्कृष्ट कथा लेखेर सुपरहिट कथाकार बन्ने लालसा पलाउन थाल्यो । उत्कृष्ट कथाकारै नबने पनि एउटा कथा लेख्न पाए त लामो समयदेखि लेखको खडेरी परेको आफ्नो व्लग अपडेट गर्न भने नि काम लाग्थ्यो । तर कथा पो लेख्ने कसरी? आजसम्म एउटै कथा लेखेको छैन । त्यति धेरै अरुका कथाहरु पनि पढेको छैन । यतिकै त कथा पक्कै लेख्न सकिँदैन ।
रातको १२ बजिसकेको थियो । कथा लेख्ने धुन चढेर निदाउनै सकिन । उठेर बत्ती बालेँ । रेडियो अन गरेँ, कान्तिपुर एफएममा पुराना नेपाली गीतहरु बज्दै थिए । डायरी र कलम झिकेँ । लेख्ने प्रयास गरेँ, तर आए पो लेख्नु? हात, कलम र कापी सँगै भएपछि यी तीनको खासखुस त सुरु भैहाल्छ, डायरीमा मनपरि धर्साहरु कोरिए । दिमागमा के-के गम्दै आफ्नै चित्र कोर्न थालेँ । कस्तो वाहियात चित्र काेरियो भने, आफ्नै चित्र आफैले नचिन्ने, अरुले त झन् के चिन्लान्? आइएससी पढ्दा ताका बायोलोजी प्राक्टिकलमा त अनेकन जिवहरुका खुब राम्रा चित्रहरु बनाइन्थ्यो । अहिले आफ्नै चित्र चैँ किन बन्दैन हँ? सायद प्रोफेसरहरुको साइन गराउनुपर्ने चिन्ता नभएर होला । तर होइन, डायरीमा 'मान्छे' को चित्र त बनेकै थियो नि, मेरो अनुहारसँग मिल्ने चित्र पो हो त नबनेको । उठेर ऐना हेरेँ, 'डायरीको म' र 'ऐनाको म' मा एउटा धर्सो पनि मिलेको थिएन । ह्या प्रकृतिले पनि कति जटिल अनुहार बनाइदिएकी होलिन्? तर जे होस् 'डायरीको म' भन्दा 'ऐनाको म' अलि ह्याण्डसम पाएर मख्ख परेँ । फेरी आफै देखि झनक्क रिस उठ्यो, कथाकार बन्न तम्सिएको मान्छे कहाँ चित्रकार बन्न थाल्या होला? एक घण्टा बितिसक्दा पनि न त कथाको विषयवस्तु सुझ्यो, न त आफ्नो अनुहार चिनिने चित्र नै बन्यो । सोचेँ, जिवनमा कथाकार बनी खाइने भइएन । बाहिर कतै डुम्म पड्केको आवाज आयो, बत्ती झ्याप्प निभ्यो । सायद ट्रान्समिटर पड्क्याहोला । मलाई कथाकार बनीखान कसैले दिएनन् भनेर 'कसै' उपर दोषारोपण गरिदिएँ । डायरी र कलम टेबल तिर मिल्काइदिएँ । कथाकार, उपन्यासकार, चित्रकार बन्न भन्दा त निदाउन सजिलो र रमाइलो भन्ने लाग्यो अनि घुप्लुक्क सुतेँ । जबरजस्ती आँखा बन्द गरेँ तर कथा लेख्ने बिचारले आँखा चिम्लिएन । पहिले अरुका उत्कृष्ट कथाहरु दुइ चारवटा पढ्नुपर्यो अनि त कसो नफुर्ला एउटा जाबो कथा? हो, लेख्नु पहिले पढ्नु पर्छ, खुब पढ्नुपर्छ ।

मेरो आँखै अगाडी एउटा पुस्तकालयको बोर्ड देखियो । बोर्डमा ठूला अक्षरले लेखिएको थियो 'विश्व कथा पुस्तकालय', त्यसकै मुनी अली साना अक्षरमा लेखिएको थियो, 'यहाँ विश्वभरका सम्पूर्ण कथाका पुस्तकहरु उपलब्ध छन्' ।

सम्पूर्ण कथाका पुस्तक? मतलब? म रनभुल्ल परेँ । काठमाडौँ बसेको वर्षौँ भइसक्दा पनि यति धेरै पुस्तकहरु भएको पुस्तकालय न त कहिल्यै देखियो, न त यसको बारेमा कहिल्यै कसैबाट सुनियो । मलाई आश्चर्य लाग्यो । तर जे होस्, मलाई त 'के खोज्छस् ..... आँखो' भने झैँ भइहाल्यो । कथाका किताब पढ्ने बारे यसो सोचेको मात्रै के थिएँ, यति विशाल पुस्तकालयकै अगाडी आइपुगिएछ ।

पुस्तकालय तिर अगाडी बढेँ । एउटा विछट्टै सुन्दर बुट्टाहरु कुँदिएको विशाल काठे ढोका । अगाडी पुग्नासाथ ढोका आफै खुल्यो । मनमनै सोचेँ, अत्याधुनिक प्रविधियुक्त पुस्तकालय रहेछ, सायद ढोकामा मानव सेन्सर लगाएको होला । ढोका भित्र पसे लगत्तै मेरो आश्चर्य कयौँगुना बढ्यो । मेरो आँखाले भेटेसम्मको दुरीमा दराजमा सजाइएका पुस्तकहरुले भरिभराउ अत्यन्त विशाल हल थियो । साँच्चै, मैले त्यो हलको अन्त्य नै देखिन । निकै मोटा पुस्तकहरु अनगिन्ती थिए दराजहरुमा । हल पुरै शान्त थियो । तर अचम्म, त्यो पुस्तकको महासागरमा न मैले एकजना पाठक देखेँ न त एक जना कर्मचारी नै । हैन काठमाडौँमा कहिले देखि थियो हँ यती विशाल र अनौठो पुस्तकालय?

म चकित पर्दै बढो होसियारी पूर्वक यताउता हेर्दै थिएँ । मेरो दायाँ साइडबाट आवाज आयो ।

"हेल्लो"

म खङ्ग्रङ्गै भएँ । हठात् दायाँतर्फ मोडिएँ । दृष्य अँझै अचम्म लाग्दो थियो । एउटा अत्यन्त विशाल टेवल, त्यसमाथी अनगिन्ती किताबहरु, टेवलको छेउमा एउटा मेच, मेचमा एउटी केटी । अत्यन्तै शालिन वस्त्रहरुमा ति केटी निकै सुन्दरी देखिएकि थिइन् । ठिक्क मात्रा मिलेको श्रृङ्गार र अलङ्कारमा ति केटी धपक्कै बलेकि थिइन् । तिनको आँखामा अनौठो तेज थियो, अनुहारमा गाम्भिर्य । उनलाई देख्दैमा यस्तो लाग्थ्यो कि उनी सम्पूर्ण ब्रम्हाण्डकी ज्ञानी हुन्, सारा शास्त्रहरुकी जानकार हुन् । मलाई तिनी सारा सौन्दर्य र ज्ञान एकत्रित भइ मानव स्वरुपमा प्रकट भए झैँ लाग्यो ।

टेबलभरी छरिएका जुन पुस्तकमा म आँखा पुर्याउँथेँ, ति केटीले त्यहि पुस्तकमा केहि लेखिरहे जस्तो देख्थेँ । मलाई अचम्म लाग्यो, तिनका दुइवटा मात्र हातहरु थिए । तर यो कसरी सम्भव छ? मैले आँखा च्यातेर हेरें । हो साँच्चिकै तिनले त दुइवटा हातहरुले नै एकै समयमा अनगिन्ती पुस्तकहरुमा केहि लेखिरहेकि थिइन् । मलाई ति केटी र पुस्तकालय पुरै मायवी लाग्यो । म डरले झस्किएँ ।

"किन डराउनुभएको? आउनुस् बस्नुस् ।"

मेरो झन होस् उँड्यो । "हैन हैन म गलत ठाउँमा छिरेछु ।" म हतार-हतार ढोकातर्फ फर्किएँ ।

"पख्नुस् । तपाईं कथाका किताबहरु पढ्न आउनुभएको होइन? अघिभर्खर कथा लेख्नु अगाडी पढ्नु पो पर्छ भन्नुहुन्थ्यो त । म तपाईँलाई नै कुरेर बसिरहेकी ।"

मलाई कुरेर बसेकी रे? मलाई अब ति केटी पुरै मायवी लाग्यो । नत्र तिनले मेरो कथा पढ्ने अनि कथा लेखेर कथाकार बन्ने इच्छा कसरी थाहा पाइन्? मलाई एक सेकेण्ड पनि त्यहाँ बस्ने आँट आएन तर त्यहाँबाट बाहिरिन खुट्टा चाल्ने पनि आँट भएन । म वरफ झैँ ढोकामै जमिदिएँ ठप्प ।

"डराउनु पर्दैन । तपाईं एकदम ठिक ठाउँमा आउनुभएको छ । म एक कथाकार हुँ । मैले आजसम्म अनगिन्ती कथाका किताबहरु लेखिसकेकी छु । यी हेर्नुस्, यो पुस्तकालयका सारा किताबहरु मैले नै लेखेकी हुँ ।"

अनगिन्ती? कसरी सम्भव छ? मैले आँट गरेर भनेँ-"तर मैले त तपाईंलाई चिनेको छैन । न त तपाईंका कथाहरु नै पढेको छु । तपाईं कथाकार भन्दा धेरै जादूगर लाग्नुहुन्छ । तपाईंको नाम के हो?" तुरुन्तै गल्ती बोलेँ भन्ने महशुस भयो ।

"नबुझिएका कुराहरु जादुमय र चामत्कारिक नै लाग्छन् । मेरो नाम भन्दा पनि मेरा कृतिहरु पाठकका लागि महत्वपूर्ण हुन्छन् ।"

माफ गर्नुहोला भन्ने भावमा हेर्दै भनेँ-"तर पनि केहि नाम त होला नि? न मैले तपाईंका कथाहरु केहि पहिले नै पो पढिसकेको छु कि?"

"तपाईंले मलाई अवस्य चिन्नुहुनेछ । मेरा केहि कथाहरु तपाईंले आंशिकरुपमा पढ्नु पनि भएको छ । मेरो कथामा कतै तपाईं पनि हुनुहुन्छ ।"

"तपाईँको कथामा म?" म फेरी झस्किएँ । "भयो, मलाई जान दिनुस् । मलाई यति धेरै पुस्तकहरु पढ्ने फुर्सद छैन ।"

"हो त्यसैले त तपाईंले मलाई कथाकारका रुपमा चिन्नुभएन । मैले अनगिन्ती कथाहरु लेखें । तर ति कथाका पाठकहरु छैनन् । धन्य आज तपाईं आउनुभयो ।" फेरी थपिन्-"यी अनगिन्ती मेरा कथाका पुस्तकहरु मध्ये केहि विश्वविख्यात पनि भएका छन् ।"

"जस्तै?"

"म तपाईंलाई देखाउँला । पहिले बस्नुस् त सहि ।"

उनले कुर्ची अगि सारिन् । म बढो सावधानिपूर्वक कुर्चीमा अलक्क बसेँ । अँझै पनि उनि लेखिरहेकै थिइन् । पक्का थियो कि उनी कुनै सामान्य मानिस थिइनन् ।

उनी बोल्न थालिन्-"म मान्छे हुँ, म जिवजन्तु हुँ, म किटपतङ्ग हुँ, म ढुङ्गामाटो, हावापानी, रुखबिरुवा, नदीनाला, समुद्र हुँ । म पृथ्वी, ग्रह, ताराहरु हुँ । म ब्रम्हाण्ड हुँ ।"

मैले उनको कुरा छेउटुप्पो भेउ पाउन सकिन ।

"म कथा हुँ, म कथाकार र पाठक पनि हुँ । म जादुगर हुँ, म चमत्कार हुँ, म बिचार हुँ, म प्रकाश हुँ, म शक्ति हुँ, म शून्य हुँ, म भ्रम हुँ, म सत्य पनि हुँ । मेरा अनगिन्ती नाम र स्वरुपहरु छन्, तर म बेनामी र स्वरुपविहिन पनि हुँ । म नाश्तिक इश्वर हुँ । म तपाईँ हुँ र म प्रकृति हुँ ।"

म तपाईँ हुँ रे? के भन्छिन् यिनी? म कसरी आफैसँग अलग-अलग मेचमा बसेर कुरा गर्न सक्छु? म कसरी यी अनगिन्ती कथाहरुका लेखक हुनसक्छु? मैले आजसम्म एउटा पनि कथा लेखेको छैन ।

अगाडी हेरेँ, पुस्तक राखिएका दराजहरुका सिसामा ऐनामा जस्तै तर अलि धमिलो छायाँ देखिएको थियो । म अगिभन्दा पनि कयौँ गुना आश्चर्य चकित तब भएँ, जब मेरो छायाँ सिसा भित्र पुस्तकको रुपमा देखेँ । ऐनामा हेर्दै थिएँ, उनी मेरा खाली पान्नाहरुमा कहानीहरु लेख्दै थिइन् । सम्झिएं आफ्नै विगतका दुःखलाग्दा काहानी र उतारचढाबहरु, एक्कासी मलाई ति केटीसँग रिस उठ्यो । ए...मेरो जीवनमा सुख र आनन्दमय काहानीहरुमा टि्वस्ट ल्याउने त यो पो रहिछे? हठात् उनीतर्फ फर्किएँ र उनको कलम खोस्न आँटेँ । तर एकाएक उनी र कलम दुबै गायव भइ प्रकाशपुञ्जमा परिणत भए । उक्त प्रकाशपुञ्ज फेरी अनगिन्ती फिलिङ्गाहरुमा विभक्त भए र बिस्तारै एक एक पुस्तकभित्र प्रवेश गरे । एउटा झिल्को म भित्र प्रवेश गर्यो । सिसा तर्फ फर्किएँ, म अझै पुस्तकरुपमै थिएँ, तर ति केटीको स्थानमा अर्को म थिएँ जसले मेरा खाली पन्नाहरुमा थप काहानीहरु लेख्दै थियो । आँखा बन्द गरेँ, एकाएक म भएँ सन्न । लाग्यो, कहानीहरुमा टि्वस्ट ल्याउने म आफै पो रहेछु? तर मेरा नयाँ काहानीहरु लेख्न म कत्तिको स्वतन्त्र छु? के कलम समाउँदैमा स्वतन्त्र भएर लेख्न सकिन्छ? फेरी आँखा उघारेँ र पुस्तकालयमा दृष्टि घुमाएँ । बिस्तारै केहि पुस्तकहरु मानवाकृतिमा परिणत भए । मैले चिनेका केहि प्रख्यात अनुहारहरु-न्यूटन, आइन्स्टाइन, लक्ष्मीप्रसाद, र अरु धेरै मानिसहरुका अनुहारहरु । वैज्ञानिकहरु, लेखकहरु, राजनितिज्ञ, अनेकाैँ अपिरचित अनुहारहरु-कोहि थिए चुपचाप, कोहि थिए लेखनमा व्यस्त । फेरी आमा, बा र अन्य सयौँ इष्टमित्र, साथीभाइहरु-सब लेखनमा व्यस्त । चराचुरुङ्गी, किराफट्याङ्ग्रा, पहाड, नदीनाला-सब एक-एक कथाकार ।

पुस्तकालय गायव भयो । म पुगेँ सम्बिधानसभा भवन, वानेश्वरमा । जहाँ के.पि. ओली लाई प्रधानमन्त्रीमा निर्वाचित भएकोमा माला तथा खादाहरु सहित बधाइ दिइँदै थियो । साँडे छ बजेको कान्तिपुर डायरीमा हिजोको प्रधानमन्त्रीको निर्वाचनको समाचार आउँदै रहेछ । ट्रान्समिटर बनाएछन् क्यारे, बत्ती बलिरहेको थियो ।

उठेँ । हातमुख धोएर फ्रेश भएं । चिया पिउँदै झ्याल बाहिर टोलाउन थालें । भंगेराहरु चिरविराउँदै चारो टिप्दै थिए । घरघरबाट प्रेसरकुकरले सिठ्ठी लगाएको आवाज सुनिन्थ्यो । पर सडकमा मानिसहरु आफ्नै सुरमा हिंडिरहेका थिए, कोहि मोटरमा हुइंकिरहेका थिए । सपनाको ह्याङओभर बांकी नै थियो, मैले मेरो सेरोफेरोमा कथै कथाहरु देखेँ, धेरै नपढिएका र नपढिने कथाहरु, पाठक विहिन कथाहरु । सबैभन्दा मोटो कथाको पुस्तक म आफैलाई पाएँ ।

मलाइ लाग्यो-म जिउँदो कथा हुँ, जिउँदो उपन्यास हुँ । कथाकारहरुका उत्कृष्ट कथाहरुमा भएका हाँसो आाशुका काहानीहरुभन्दा ज्यादा भोगाइहरु छन् मसँग । मलाई थाहा छ, मलाई पढेर पाठकहरु रुवाउन वा हँसाउन कुनै काल्पनिक काहानीहरु र साहित्यिक मरमसलाहरु जरुरी छैनन् । मेरो सादा काहानीले हसाउँछ, रुवाउँछ । सायद यस्तै धेरै काहानीहरु सबैसँग हुँदाहुन्, देखिने गरि लेखिन बाँकि । तर अपसोच, लेखिएका कथाहरु युगौंयुग पुस्तकालयमा सजाइन्छन्, पढिन्छन्; कुनै पात्रहरुले कैयन पाठकहरुको प्रेम, सहानुभूति, आदर, सम्मान पाउंछन् त कुनैले भयंकर घृणा । जे होस् ति पात्रहरु जुगौं जिइरहन्छन् । तर भोगिएका आजका जिउँदा कथाहरु एकदिन मृत घोषणा गरिन्छन् र मसानमा जलाइन्छन् । के मैले पनि भोगिएको कथालाई देखिने गरि लेख्नु त? मैले मेरो कथाको पहिलो वाक्य दिमागमै लेख्न खोजेँ तर फुर्दै फुरेन । मलाई हाँसो उठ्यो, कथाको विषयवस्तु त फेला पर्यो तर देखिने गरि डायरीमा लेख्न साँच्चै गाह्रो रहेछ ।

देखिने कथा लेखे पनि नलेखे पनि भोगिने कथामा नयाँ कहानी थप्न हतार भैसकेको थियो । त्यसैले कामको तयारीमा जुटेँ ।

✍️ नारायण धिताल  ।  असोज २७, २०७२  ।  काठमाडाैं  ।

1 comment:

  1. भर्खरै एउटा अर्को कथाको पुस्तकलार्इ यो कथाले Stroke हान्यो ।

    ReplyDelete