हङकङको कोलहाल युक्त काउलुन शहरलाई छिचोलेर कतै टाढा एकान्तमा तैरिएको टापुमा बरालिने मन हप्ताको सुरु देखि नै लागेको हो । शनिबार बिदाको दिन, बिहानै देखि सिमसिम वर्षा भैरहेको थियो, संगसंगै गर्मि पनि असाध्यै थियो । हङ्गकङ्ग अब्जरभेटोरीको वेबसाइटमा मौसम सम्बन्धि विवरण हेरें । न्यू टेरिटोरी क्षेत्रमा हिजै देखि वर्षा भैरहेको रहेछ । तथापि उक्त दिन हङ्गकङ्गको उत्तर पूर्वी इलाकामा पर्ने न्यू टेरिटोरीको "मा सि चाउ" टापुमा बिताउने निर्णय गरें । गुगलअर्थ, गुगलम्याप र हङ्गकङ्गका पर्यटन सम्बन्धि वेबसाइटहरुबाट उक्त ठाउंबारे जानकारी बटुलें र यात्रा सुरु गरें ।
हङ्गहोमबाट टाइपो मार्केट हुंदै साम मुन साइ भन्ने ठाउंमा पुगें । दिनको करिब १२ बजेको थियो । गर्मि सहि नसक्नु थियो । त्यहांबाट करिब १ घण्टा पैदल हिंडेपछि मात्र उक्त टापुमा पुगिने जानकारी थियो । तर पैदल यात्राको बाटो पत्ता लागेन । करिब १५ मिनेट ओहोर दोहोर गरेर बिताएं, बाटो पत्ता नलागे पछि अब फर्किनु पो पर्ला कि भनेर सोचें तर आउंदा खर्च भएको भाडाले त्यसै फर्कन दिएन :) । त्यसपछि एकजना बृद्धलाई हातले इशारा गरि सोधें -"मा सि चाउ वे ?" यहां यस्तो सोधाइमा रेस्पोन्स पाउनु असम्भवप्राय हुन्छ । तर ति बृद्धले यसो इशाराले देखाइदिए । घाम चर्कियो, छाता ओडेर अगाडी बढें । बस्ती गाउंघरको जस्तै थियो । सांघुरो बाटो, घरका आंगन आंगनै हिंड्दै अगाडी बढें । एकैछिनमा बस्ती सकियो र बाटो जंगल भित्र छिर्यो । बाटोमा कुहिएका पात पतिंगर थिए, झ्याम्म परेको अंध्यारो बाटो । बिहानसम्मको झरीले चिसो र ओसिलो पनि थियो । बाटो हेर्दा मानिसहरु त्यति हिंड्ने गरेको जस्तो देखिन्नथ्यो । गुगलअर्थमा यो क्षेत्र हेर्दा बिचको भूभाग सेताम्य देखिएको थियो, मैले सोचें त्यो कुनै बस्ती हुनुपर्छ । तर जब अगि बढ्दै गएं तब देखें त्यो सेताम्य देखिएको त मानव चिहानहरु पो रहेछन् ।
![]() |
| चिहानहरु, तस्विरः गुगलम्याप |
अगाडी सानो हरियो, हातले टपक्कै टिपूं जस्तो लाग्ने टापु तैरिरहेको थियो । पछाडी पर डांडाको भित्तामा देखिने विशालकाय बुद्धको मूर्तिले शान्त हुन प्रेरित गर्दै थियो ।
अगाडी बढ्दै गएं, बिचमा फेरी मान्छेहरु भेटिएनन्, बाटो फेरी अंधेरिंदै गयो, चिहानहरु देखिन थाले, डर लाग्यो । एकैछिनमा सामुदि्रक तटमा पुगें, खुला ठाउं । अगाडी एउटा टापु थियो । म उभिएको भुभाग र उक्त टापु जोड्ने पातलो सांघुरो जमिनको धर्सो थियो । यस्तोलाई टमबलो (tombolo) भनिंदो रहेछ । उक्त टमबलो छाल उंचो हुंदा डुवानमा पर्ने रहेछ । म टमबलो बाट पारी गएं-मा चि चाउ ।
मा सि चाउ सानो, चप्पलको तलुवा आकारको छ, हङकङ जियोपार्क अफ चाइना अन्तर्गत पर्छ र विश्व सम्पदा सूचिमा समेत सूचिकृत छ । विविध प्रकारका चट्टानहरु, रक स्ट्रक्चर, जिवाश्माहरु यस क्षेत्रका विशेषता र आकर्षण हुन् । तर हङकङका अन्य पर्यटकिय क्षेत्रमा जस्तो यहां मानिसको भिड भने हुन्न, विल्कुल एकान्त र शान्त । हङकङ जियोपार्क अथोरिटिले निर्माण गरेको सानो प्रतिक्षालय र ठाउं ठाउंमा राखिएका चट्टानहरु सम्बन्धि जानकारी भएका बोर्डहरु बाहेक यहां मानव निर्मित संरचनाहरु खासै थिएनन् । म नक्सामा दिइएको गोरेटो अनुसार अगि बढें । यो बनाइएको बाटो थिएन, मानिस हिंड्दा स्वत बनेको गोरेटो मात्र । जंगल भए पनि चिहान नभएकोले डर लागेको थिएन । अं फर्कनेबेलाको डरको चिन्ता भने अवश्य थियो । गोरेटो तट तिर मोडिएर बिलायो ।
मैले कल्पना गरेअनुरुपका विशाल चट्टानी पहराहरु रहेनछन् त्यहां । त्यसैले अपेक्षाकृत आनन्द लिन सकिरहेको थिइन । आकाशमा धुम्म बादल भएकोले पानीको रंग पनि त्यति आकर्शक लागेन । तथापी सामुदि्रक तटमा बस्ता मलाई बेग्लै अनुभूति हुने गर्छ । एकै छिनको लागी "लाइफ अफ पाइ" को "पाइ" लाई आफूभित्र आरोपित गर्नु, "कास्टअवे" चलचित्रको पात्रलाई आफूमा अनुभूत गर्नुको मजा बेग्लै । एक्लिएको कल्पना गर्दा पनि खुब मजा आउने, मजा यसकारण कि यो क्षणिक र काल्पनिक हो । आफू हुर्किएको क्षेत्रभन्दा फरक जियोग्राफी भएकोले हुन सक्छ, मलाई हिमाल, समुद्र तथा विशाल सुख्खा मरुभूमि जस्ता क्षेत्रहरु साह्रै मन पर्छन् । मुस्ताङको हिमाली मरुभूमिको थोरै अनुभव भएता पनि कालाहारी जस्तो विशाल अफि्रकी मरुभूमिको अनुभव भने तस्विर र चलचित्रमै सिमित छन् । मैले फेरी कल्पना गरें, कुनै बेला कालाहारी डेजर्टमा पुगेर बुसम्यान आफूमा आरोपित गरि मरुभूमी जिवन जिएको कल्पनामा हराउनु पर्छ, केबल कल्पनामा नि फेरी । पर क्षितिजमा विशाल कार्गो पानीजहाज तैरिरहेको थियो । यस्तै जहाजमा महिनौं सम्म समुद्रमा तैरिएर यात्रा गर्नु पनि कति अनौठो होला । पर दर्जनौं संख्यामा तैरिएका रंगीचंगी सेलबोटहरु पुतलिहरु जस्तै देखिन्थे । मानिसहरु बिच बिच सम्म निर्धक्क तैरिरहेका थिए । आकाशमा मडारिएको कालो बादलको प्रवाह नगरी । मलाई भने पानी परेको खण्डमा जंगलको बाटो काट्नन मुश्किल हुने कुराले पिरोलेको थियो । आधि घण्टा भित्रमा उक्त ठाउंबाट फिर्ता हुने निर्णय गरें ।
ढुंगाहरुमा मन लगाएं । निकै अनौठा प्रकृतिका ढुंगाहरु थिए । कुनै कुनै ठाउंमा ठूला ठूला ब्याकबोन जस्तो आकारमा प्राकृतिक रुपमा कुंदिएका ढुंगाहरु थिए, जिवाष्मा जस्तो लाग्यो, तर पछि थाहा भयो त्यो जिवाष्मा नभएर एक प्रकारको स्ट्रक्चरल डिफर्मेशन रहेछ । किंक ब्याण्ड, क्वार्ज भेन जस्ता रक स्ट्रक्चरहरुको अवलोकन गरें ।
मा सि चाउ मा देखिएका केहि रक स्ट्रक्चरहरु
फेरी एकाएक मलाई आफूभित्र यो निर्जीव पथ्थर आरोपित गरि करोडौं वर्षसम्म यो समुद्रतटको साक्षी भइ बसेको कल्पना गर्न मन लाग्यो । कल्पनै त हो, केलाई रोकतोक लगाउनु छ र ? म परिवर्तन रुचाउने मान्छे, बगिराख्न मनपर्छ, या त बगिरहेको हेर्न मन पर्छ, त्यो नि नभए बगिरहेको कल्पना गर्न मन पर्छ । तर पनि यसरी ढुंगो भएर जमेर बस्न पाए त कति धेरै परिवर्तनहरुको साक्षी भइंदोहो । म अहिले उभिएको जमिनमा कति धेरै पविर्तनहरु आए होलान् । यो जमिनले कुनै दिन समुद्रै पो थेगेको थियो कि ? त्यसो आफू जन्मिएर हुर्केको हिमाली भूभाग पनि कुनै बेला विशाल सागरको भुइं थियो भन्ने पनि पढेको थिएं । खैर यो पृथ्वीको निमेशको पाहुना म, के जानूं यी सब कहानीहरु ? यी चट्टानहरु नै जान्लान् सायद ।
मैले आफूभित्र आरोपित गरेको २८ करोड वर्ष अगाडिको चट्टानले एकाएक मलाई झस्कायो, जब स्पष्ट जिवाष्माहरु सहितका चट्टानहरु देखें । म जस्तै जिवहरु यी । म अहिले ढुंगो बनेर इतिहासको साक्षि बस्ने कल्पना गर्दैछु । यी जिवाष्मा बनेका जिवहरु सायद अनिच्छामै मरे, अनिच्छामै चेपिए, थिचिए र चट्टान स्वरुप भए, अझै आफ्ना केहि स्वरुपहरु भने जिवितै राख्न सफल भएका छन् । यो पनि हरेक श्वास फेर्ने प्राणीको बांच्ने इच्छाको प्रतिफल हो कि ? यिनिहरु करोडौं वर्षदेखि छालहरुसंग कुस्ती खेल्दै आफूलाई जिवन्त राख्ने प्रयास गरेका होलान् । यिनिहरुले कयौं ज्वालामुखीहरु, सुनामीहरु, कयौं यस्ता टापुहरुको पतन र उत्थानहरु देखे होलान् । अहिले टुलुटुलु मलाई हेर्दैछन् र आफ्ना केहि इतिहासहरु मौन व्याख्या गरिरहेका छन् । मेरो आगमन र भेट यिनका लागि त्यति महत्वपूर्ण नहोला, नत्र अर्को करोडौं वर्ष पछि मेरो कहानी पनि यिनले बक्दा हुन्, मजस्तै अर्को आगन्तुकलाई । अथवा म आफै अघि सोचे जस्तै फोसिलाइज्ड हुन पनि त सक्छु । तर नहुन पछि सक्छु । कतै मेरो कोषका अंशहरु वायविय भई पृथ्वीलाई हावाको वेगमा गोलचक्कर मारिरहेका पनि त हुन सक्छन् । ति मेरा वायविय कणहरु कालाहारी डेजर्टमा गइ धस्सिन सक्छन् र बुसम्यानको कहानी युक्त जिवन जिउन सक्छन् । यी जस्तै जिवाष्मा बनियो भने मलाई करोडौं वर्ष पछिका अति नुतन र विकशित मानव वा यस्तै कुनै सभ्यताका भुगर्वविदहरुले सायद हत्केलामा खेलाउलान् । त्यसबेला ति भूगर्भविदहरुले म आज मा सि चाउ मा आएर बहुलट्टी पाराले कल्पिएका कुराहरुको सिग्नेचर मेरो जिवाष्मा मा भेट्लान त ? मेरो मस्तिष्कमा उठेका विचार तरंगहरु, मेरा भोगाई, मैले यो सामुदि्रक तटमा लडेको युद्ध तिनले पढ्लान् त ? अति विकसित विज्ञानको युगका भूगर्भविदहरुले सायद पढ्लान पनि । अथवा संयोगले मेरो जिवाष्मालाई कालाहारी डेजर्टमा लगेर पो फाल्देलान् कि ? तर मेरो जिवाष्मा पो तिनले भेट्ने हुन कि हैनन् । अझ म नै पो करोडौं वर्षसम्म चाप ताप लात खाएर यी चट्टानका जिवाष्माले जस्तै आफ्नो परिचय सुरक्षित राख्न पो सक्ने हो कि होइन । नभए मेरा कणहरु कुनै प्यालियोक्लाइमेटोलोजिस्टले आइसकोर बोरिङ गर्दा भेट्ला अथवा त्यो विकशित युगको कुनै सेडिमेन्टोलोजिस्टले सेडिमेन्टका कोरहरुबाट केहि कणहरु छानेर निकाल्ला । के उसले ति कणहरुको अध्ययन गरेर मलाई चिन्ला त ?
उफ् बिचार पनि कसरी मडारिएको । मैले यो कल्पिंदै गर्दा मेरो पैतलामुनिका अरवौं खरवौं बालुवा माटोका कणहरु, मैले प्रत्येक सेकेण्ड छातीमा हुल्दै फाल्दै गरेका हावाका अणुहरुसंग मेरो शरिरका कोषहरुका अणु परमाणुहरु संग जस्तै सदियौंको इतिहास छ । के मैले यसको हेक्का राखेको छु र ? तर हेक्का राख्ने हैसियत नभएर पनि त हुन सक्छ । हैसियत भएकोमा त यी यसरी गर्मिमा पाक्दै चिहानको डर सहेर ढुंगा खेलाउन आएकै छु नि । भयो धेरै कुरा नगरौं, स्वमनसंगको पागल वार्ता अनन्त हुन्छ, यो सब लेखेर कहां साध्य हुन्छ र ? तर यस्तो पागल वार्ता केहि समयको लागि भने खुब मनोरञ्जक हुने, त्यसैले त मैले जानी जानी मस्तिष्कमा बिचारको हुण्डरी मच्चाइदिएं :) अब पुग्यो शान्त हुनुपर्छ ।
✍️ नारायण धिताल । जेठ ३, २०७१ । हङकङ ।





उत्कृष्ट लेखन शैली ।
ReplyDelete"एक्लिएको कल्पना गर्दा पनि खुब मजा आउने, मजा यसकारण कि यो क्षणिक र काल्पनिक हो ।" This reminded me of "Into The Wild", when Christopher, at the ending days of his life, underlines "and so it turned out only a life similar to the life of those around us,merging with it without a ripple, is genuine life, and that an unshared happiness is not happiness" from Boris Pasternak's "Dr.Zhivago" and adds himself "HAPPINESS IS ONLY REAL WHEN SHARED". Maybe, that's one reason why loneliness is only so great in our imaginations.
ReplyDelete