Pages

Sunday, October 19, 2025

आहा! त्यो अमृत जलधारा

२०८२ कार्तिक २ गते, आइतबार

मलाई एउटा नयाँ रेगिस्तानी कथा बाँच्ने रहर जाग्छ । म जान्दछु समयको लहर खोलाको धार जस्तै एकतर्फी बग्दछ र गन्तव्य अनजान छ । तर म त्यो अनौठो कथा बाँच्ने निश्चय गर्छु किनकि मलाई आजभोली अनिश्चयका छालहरु उती भयावह लाग्दैनन् । म ती बालुवामा छापिएका अनित्य पाइलाहरुको अर्थमा पनि उति सारो घोत्लिन्न, किनकि ती एक बताससँगै बिलाइजान्छन् । म केबल कथा बाँचिरहन्छु । तर मेरो यात्रामा थकान निश्चयै छ । मेरो आँत प्यासले खक्रक्क सुकेको छ । अब कुन जलले आँत भिजाउँ? म रनभुल्ल पर्छु । 

आजै देखि तिहार लाग्यो । कम्प्यूटर खोल्छु, युट्युवमा देउसीभैलो गीत खोज्छु । बम बहादुर कार्की देखि टंक बुढाथोकी र अक्षता अधिकारी सम्मका अनेक रुप-स्वरुपका देउसीभैलो बज्छन् । तिनका स्वाद नितान्त अलग छन्, परन्तु केहि गुण समान लाग्दछन् । ती सबै धुनका झरीले मेरो हृदयको पखेरामा सुदूर स्मृतिको मूल फुटाइदिन्छन् । तर के ती स्मृति–बुँदहरु भर्खरै बालुवामा छापिएका पाइलाभन्दा फरक छन्? के ती मलाई रेगिस्तानी यात्रामा सघाउँछन्? मलाई लाग्दछ ती स्मृतिका जलधाराहरु नै हुन् जो मेरो आँत भिजाएर प्यास शान्त पार्न सक्छन् । म त्यो जलधारा घटघटी पिउँछु । 

Tuesday, May 16, 2023

वसन्तको रङ्ग कस्तो?

कुनै समयका घाम मिठा, न्याना र मनै उज्यालो पारिदिने खालका लाग्छन् त कुनै समयका घाम चर्का, जर्कटा र उराठ लाग्दा । हावाको ताल पनि त उस्तै हो । पारिजातको वास्ना मिसिएको शारदीय हावाको स्पर्श मातृ स्नेह झैं प्रिय हुन्छ । त्यो हावाले चंगा उँडाउँछ । चङ्गा सँगै उँडाएर मनै चंगा बनाइदिने  त्यो हावा कोमल र मधुर लाग्दछ । तर त्यहि हावा कहिले चैते हुण्डरी बनेर चङ्गा होइन, छाना उँडाउन जाइलाग्छ । यी ऋतु पिच्छे रुपरङ्ग फेर्ने घाम, पानी, हावा, चट्याङ, विजुली, रुखपात आदिको प्रभाव मेरो मानसपटलमा यति गहन र गडिँदो छ कि कहिले यीनले त्यसै–त्यसै मनलाई फुरुङ्ग पारिदिन्छन् त कहिले बेचैन बनाइदिन्छन् ।

Thursday, September 19, 2019

दशैँ महिना र मनको उडान

मेरो मस्तिष्क खुरुक्क काम गर् भन्छ, मन चाहिँ हाेइन डुल्न जाउँ भन्छ । जति कामको चाङ बढ्यो उती बरालिन इच्छा गर्ने, यो कस्तो आदत मनको? अन्ततः  जित मनकै हुन्छ । म अफिस बाहिर पट्टी सानो वालकोनीमा निस्कन्छु । सफा आकाश र घमाइलो मौसममा मेरो अगाडी र बायाँ तर्फ ताइचुङ सिटी सर्लक्क देखिन्छ । दायाँतर्फ बस्ती विहिन एउटा सुन्दर पहाड छ । सिरसिर बतास चलिरहेको छ । चिसो बतास मेराे कपाल सुम्सुम्याउँछ र निधारमा मिठो काउकुती लगाइदिन्छ । मोवाइलमा ‘हाम्रो पात्रो’ एप खोलेर हेर्छु । ओहो! "दशैँ महिना" पाे लागि सकेछ? १५/२० वर्ष अघि हुन्थ्यो भने यो मौसमले मलाई नेपाली कागजको चङ्गा र चप्पलको लट्टाइ बनाउन दौडाइसक्थ्यो ।

Wednesday, October 14, 2015

कथै कथा

शहरमा कथा, उपन्यासका किताबहरु खुब बिक्न थालेका थिए । कथाकार, उपन्यासकारहरु पनि दिनदिनै चर्चित हुँदैथिए । यस्तैमा मलाई पनि एउटा उत्कृष्ट कथा लेखेर सुपरहिट कथाकार बन्ने लालसा पलाउन थाल्यो । उत्कृष्ट कथाकारै नबने पनि एउटा कथा लेख्न पाए त लामो समयदेखि लेखको खडेरी परेको आफ्नो व्लग अपडेट गर्न भने नि काम लाग्थ्यो । तर कथा पो लेख्ने कसरी? आजसम्म एउटै कथा लेखेको छैन । त्यति धेरै अरुका कथाहरु पनि पढेको छैन । यतिकै त कथा पक्कै लेख्न सकिँदैन ।

Saturday, August 8, 2015

"मा सि चाउ" र जिवाष्माको आरोपण

हङकङको कोलहाल युक्त काउलुन शहरलाई छिचोलेर कतै टाढा एकान्तमा तैरिएको टापुमा बरालिने मन हप्ताको सुरु देखि नै लागेको हो । शनिबार बिदाको दिन, बिहानै देखि सिमसिम वर्षा भैरहेको थियो, संगसंगै गर्मि पनि असाध्यै थियो । हङ्गकङ्ग अब्जरभेटोरीको वेबसाइटमा मौसम सम्बन्धि विवरण हेरें । न्यू टेरिटोरी क्षेत्रमा हिजै देखि वर्षा भैरहेको रहेछ । तथापि उक्त दिन हङ्गकङ्गको उत्तर पूर्वी इलाकामा पर्ने न्यू टेरिटोरीको "मा सि चाउ" टापुमा बिताउने निर्णय गरें । गुगलअर्थ, गुगलम्याप र हङ्गकङ्गका पर्यटन सम्बन्धि वेबसाइटहरुबाट उक्त ठाउंबारे जानकारी बटुलें र यात्रा सुरु गरें ।

Saturday, October 4, 2014

त्यो आँशु नै हो

पानी परिरहेको थियो, बलेसीमा भल चलेको थियो । म कागजको डुंगा पानीमा बगाउंदै खेल्दै थिएं । पिँढीको डिलबाट उकालो चड्दै गरेको चर्कने कमिलाको ताँतीले मेरो ध्यान खिच्यो । म टुसुक्क बसेँ । बडो अनुशासन पूर्वक हिँडिरहेको कमिलाको ताँतीलाई ध्यानपूर्वक हेर्न थालेँ । मलाई तिनीहरुको गन्तव्य पत्ता लगाउन मन लाग्यो । 

साउने झरी बादलु माथी आकाशै ढाकेको
नागबेली पार्दै कमिला ताँती काँ जान आँटेको ?

Saturday, September 14, 2013

उपत्यकामा वायुप्रदुषण

विगतका केहि दिनहरुदेखि काठमाडौं उपत्यकामा घट्दै गरेको बर्षाको आवृत्तिसागै वायुमा धूलोजन्य प्रदुषकको मात्रा अत्याधिक बढ्न पुगेको छ । पैदल यात्रुहरु सडकमा यात्रा गर्दा धुलाम्य हुनुपर्ने अवस्था सृजना भइरहेको छ । त्यसो त उपत्यकाबासीहरुका लागि यो कुनै नौलो समस्या होइन तर चौडा पार्नका लागि भत्काइएका सडकहरु समयमै पुनर्निमाण नहुँदा भने समस्या ज्यादै जटिल बनिरहेको छ । नेपालमा वायुप्रदुषण नियमनको प्रकृया सुरु भएको झन्डै डेड दशक बितिसकेको छ भने वायुको गुणस्तर सुधारका लागि सरकारी तथा गैरसरकारी निकायहरुबाट प्रशस्त स्रोत तथा साधनहरुको लगानी भइसकेको छ, जसको प्रमुख हिस्सा काठमाडौं कन्द्रित छ । तथापि उपत्यकाको वायुको गुणस्तर सुधार हुनुको साटो दिन प्रतिदिन खस्कँदै जानु सोचनिय विषयवस्तु हो । तसर्थ सरकारी स्तरबाट तत्कालिन र दीर्घकालिन योजनाहरु सहित वायु गुणस्तर व्यवस्थापन प्रणालीको उपयुक्त खाका तयार पारी तदनुरुप सम्पूर्ण सम्बन्धित निकायहरुले उक्त खाकामा केन्द्रिकृत भई कार्य सम्पन्न गरे मात्र स्वच्छ वायुमण्डल सहितको काठमाडौं शहरको परिकल्पना गर्न सकिन्छ ।

Sunday, April 28, 2013

वायोचार

अंगार अर्थात गोललाई मानव सभ्यताकै पहिलो मानव निर्मित पदार्थको रुपमा विविध शोधहरुले व्याख्या गरेका छन्, जसलाई झण्डै ३८,००० वर्ष भन्दा पुराना अंगारद्वारा निर्माण गरिएका क्रोम्याग्नन मानवका कलात्मक सृजनाहरुले पुष्टि गर्दछन् । २१ औं शताब्दीको यो अति आधुनिक युगमा मानव सभ्यता सामु चुनौतीको रुपमा देखा परेको जलवायु परिवर्तनलाई न्यूनिकरण गर्न यहि अंगारलाई बायोचारको रुपमा माटोमा प्रयोग गर्न सकिने सम्भावना बारे विश्वभर वैज्ञानिक अनुसन्धानहरु भैरहेका छन् ।