मलाई एउटा नयाँ रेगिस्तानी कथा बाँच्ने रहर जाग्छ । म जान्दछु समयको लहर खोलाको धार जस्तै एकतर्फी बग्दछ र गन्तव्य अनजान छ । तर म त्यो अनौठो कथा बाँच्ने निश्चय गर्छु किनकि मलाई आजभोली अनिश्चयका छालहरु उती भयावह लाग्दैनन् । म ती बालुवामा छापिएका अनित्य पाइलाहरुको अर्थमा पनि उति सारो घोत्लिन्न, किनकि ती एक बताससँगै बिलाइजान्छन् । म केबल कथा बाँचिरहन्छु । तर मेरो यात्रामा थकान निश्चयै छ । मेरो आँत प्यासले खक्रक्क सुकेको छ । अब कुन जलले आँत भिजाउँ? म रनभुल्ल पर्छु ।
आजै देखि तिहार लाग्यो । कम्प्यूटर खोल्छु, युट्युवमा देउसीभैलो गीत खोज्छु । बम बहादुर कार्की देखि टंक बुढाथोकी र अक्षता अधिकारी सम्मका अनेक रुप-स्वरुपका देउसीभैलो बज्छन् । तिनका स्वाद नितान्त अलग छन्, परन्तु केहि गुण समान लाग्दछन् । ती सबै धुनका झरीले मेरो हृदयको पखेरामा सुदूर स्मृतिको मूल फुटाइदिन्छन् । तर के ती स्मृति–बुँदहरु भर्खरै बालुवामा छापिएका पाइलाभन्दा फरक छन्? के ती मलाई रेगिस्तानी यात्रामा सघाउँछन्? मलाई लाग्दछ ती स्मृतिका जलधाराहरु नै हुन् जो मेरो आँत भिजाएर प्यास शान्त पार्न सक्छन् । म त्यो जलधारा घटघटी पिउँछु ।


